काठमाडौं- मध्यपूर्व फेरि एकपटक गम्भीर संकटको संघारमा उभिएको छ। अमेरिका र इरानबीच बढ्दो तनावले सम्पूर्ण क्षेत्रलाई अशान्त बनाइदिएको छ। पछिल्ला केही सातामा देखिएको कूटनीतिक चेतावनी, सैनिक तैनाथी र परस्पर धम्कीले अन्तर्राष्ट्रीय समुदायलाई तेस्रो विश्वयुद्धको आशंकासम्म पुर्याएको छ।
६० दिनको अल्टिमेटम: वार्ताको अन्तिम मौका ?
अमेरिकाले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे वार्ताका लागि ६० दिनको समय दिएको छ। १२ मार्चमा संयुक्त अरब इमिरेट्समार्फत पठाइएको सन्देशमा यदि इरान वार्तामा सहभागी नभए उसमाथि सैन्य आक्रमण गरिने चेतावनी स्पष्ट रूपमा दिइएको छ। सम्भावित आक्रमण इरानका परमाणु इन्स्टलेसनहरूमा केन्द्रित हुने अनुमान छ।
इरानको जवाफ र क्षेत्रीय चेतावनी
इरानले अमेरिकी चेतावनीलाई अस्वीकार गर्दै स्पष्ट पारेको छ- ऊ दबाबमा झुक्ने छैन। बरु, उसले इराक, कुवेत, कतार, बहराइन, टर्की र यूएईजस्ता देशहरूलाई चेतावनी दिएको छ- यदि उनीहरूले अमेरिकालाई सहयोग गरे भने त्यसको गम्भीर परिणाम भोग्नुपर्नेछ। यी सबै देशमा अमेरिकी सैन्य अड्डाहरू छन्, जसले द्वन्द्वको सम्भावनालाई झनै बल दिएको छ।
चीन-रुसको समर्थन, तर सीमित भरोसा
चीन र रुस खुलेर इरानको पक्षमा देखिए पनि सैन्य रूपमा उनीहरूले प्रत्यक्ष सहभागिता जनाउँछन् या जनाउँदैनन् भन्ने अनिश्चित छ। हालै सम्पन्न त्रिपक्षीय बैठकमा परमाणु कार्यक्रमबारे छलफल भए पनि यो समर्थन कूटनीतिक दबाबको स्वरूपमा सीमित हुन सक्ने आकलन गरिएको छ।
इरानमाथि प्रतिबन्धहरूको लामो इतिहास
सन् १९७९ मा इस्लामिक क्रान्तिपछि अमेरिकाले पहिलोपटक इरानमाथि व्यापक प्रतिबन्ध लगाएको थियो। त्यतिबेला अमेरिका इरानका तत्कालीन राजा मोहम्मद रेजा पहलवीलाई उपचारका लागि प्रवेश दिएको घटनापछि तेहरानस्थित अमेरिकी दूतावासमा उग्र विद्यार्थीहरूले कब्जा जमाएर अमेरिकी नागरिकहरूलाई बन्धक बनाएका थिए। त्यसविरुद्ध अमेरिकाले इरानका ८.१ अर्ब डलर बराबरका सम्पत्ति जफत गर्दै सबै प्रकारका व्यापारिक सम्बन्धमा प्रतिबन्ध लगायो।
सन् १९८१ मा बन्धक संकट समाधान भए पनि प्रतिबन्धको सिलसिला रोकिएन। केही प्रतिबन्धहरू हटाइए पनि सन् १९८३ मा इरान-इराक युद्ध शुरु भएपछि अमेरिका फेरि सक्रिय भयो। हतियार आपूर्तिमा प्रतिबन्ध लगाइयो र त्यसपछि पनि इरानमाथिको कठोर रणनीति निरन्तरता पाइरह्यो।
इरानको परमाणु कार्यक्रम साथै उसले हिज्बुल्लाह, हमास, प्यालेस्टिनी इस्लामिक जिहाद र हुती विद्रोहीजस्ता समूहहरूलाई दिएको समर्थनले पनि प्रतिबन्धहरूलाई थप कडा बनायो। यी नीतिहरूका कारण इरानको अर्थतन्त्रले निरन्तर दबाब झेलेको छ। र, आजसम्म पनि विश्वव्यापी वित्तीय प्रणालीमा उसले सहज पहुँच पाउन सकेको छैन।
अमेरिका र इरानबीचको यो प्रतिबन्ध-जवाफको खेलले केवल दुई देशबीचको सम्बन्ध मात्र होइन, समग्र मध्यपूर्वको सुरक्षा सन्तुलन र विश्व राजनीति नै प्रभावित बनाइरहेको छ।
ट्रम्पको चेतावनी र सैन्य तयारी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुन: इरानलाई बमबारीको चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘यदि इरानले सम्झौता नगरेमा यस्तो बमबारी हुनेछ, जुन विश्वले अहिलेसम्म देखेको छैन।’ बी-२ स्टिल्थ बमवर्षक विमानहरू डिएगो गार्सियामा तैनाथ गरिनु, यूएसएस ट्रुमन र यूएसएस कार्ल विन्सन विमान वाहकहरूलाई रेड सीमा पठाइनु त्यसको संकेत हो।
इरानको प्रतिकारात्मक शक्ति
इरानले हालै आफ्नो सैन्य क्षमताको सार्वजनिक प्रदर्शन गर्दै ‘अन्डरग्राउन्ड मिसाइल मेगासिटी’ देखाएको छ। यसमा लामो दूरी प्रहार गर्न सकिने क्षमताका ब्यालिस्टिक मिसाइलहरू राखिएको दाबी गरिएको छ। सर्वोच्च नेता अली खामेनेईले पनि स्पष्ट रूपमा चेतावनी दिएका छन्, ‘यदि अमेरिका वा इजरायलले हमला गरेमा इरानसँग आत्मरक्षाका लागि परमाणु हतियार प्रयोग गर्ने विकल्प खुला रहन्छ।’
हुती विद्रोही र इजरायलको भूमिका
अमेरिकाको आक्रमण सँगसँगै यमनका हूती विद्रोहीहरूमाथि हमलाहरू तीव्र भइरहेका छन्। इजरायलले पनि गाजा र लेबनानमा मिसाइल आक्रमण गर्दै तनावलाई झनै उकासेको छ। हालै बेरुतमा गरिएको हवाई आक्रमण युद्धविरामपछिको दोस्रो आक्रमणको रूपमा चिनिएको छ।
मध्यपूर्व र संसारको भविष्यमा गम्भीर प्रभाव
वर्तमान परिस्थिति विश्लेषण गर्दा प्रष्ट हुन्छ- अमेरिका र इरानबीचको तनाव अब केवल दुई राष्ट्रको सीमित विषय होइन। यो संघर्ष क्रमश: चीन, रुस, इजरायल, यमन र खाडी राष्ट्रहरू समेत तानिएको बहुपक्षीय संकटको रूप छ।
यस तनावको गहिराइ र दायरा यति व्यापक भइसकेको छ कि अब यो विषय मध्यपूर्वको सुरक्षा सन्तुलन मात्र होइन, विश्वको भू-राजनीतिक स्थिरतासँग समेत जोडिएको छ। आगामी ६० दिनभित्र वार्ताबाट ठोस समाधान ननिस्कने हो भने सम्भावित संघर्षले केवल मध्यपूर्वलाई मात्र होइन, सम्पूर्ण विश्व प्रणालीलाई असर पार्ने निश्चित देखिन्छ।
यस संकटको स्वरूपले तेस्रो विश्वयुद्धको आशंकासमेत जन्माउन थालेको छ- जहाँ सैन्य संघर्ष मात्र होइन, आर्थिक, ऊर्जा र कूटनीतिक प्रणालीहरूमा गहिरो प्रभाव पर्न सक्ने खतरा छ।