सत्ता नै सबथोक ठान्नेहरू
सत्ताको वैशाखीबिना
बाँच्न नसक्नेहरू
जनता मरे पनि
दुःख पाए पनि
अपराधको रगतमा
लट्पटिएको तिम्रो अनुहार
भ्रष्टाचारले डुङ्डुङ्ती गन्हाएको शरीर
विचार हराएको दिमाग
सुन्दै अल्छी लाग्ने विचार
गलेको शरीर
अति भो
तिम्रा नचाहिने चर्तिकला !
तिमीले गरेका वाचा
तिम्रा झुठा कसम
तिम्रा हावादारी गफ
पत्याउनै गाह्रो भो !
तिम्रो इमान पैसा हो
धर्म पैसा हो
अनैतिक जालझेलले
जम्मा गरेका पैसासँग रमाऊ
कुनै दिन चिता जलाउन
काम आउने छ !
तिम्रो ढाडिएको जिउ
चिल्लो अनुहार
महँगा पोशाकभित्र
लुकेका तिम्रा चर्तिकला
जति लुकाए पनि लुक्ने वाला छैनन् !
ल्याकत नभएका चाकरेलाई
सत्ताको कुर्सी जिम्मा लगाउनेहरू
उट्पट्याङ भाषण गर्दै
स्वार्थको राखी बाँध्दै हिँड्नेहरू
चप्पल पडकाउँदै
फिल्मी शैलीको
सम्पत्ति ठ्ड्याउनेहरू
सरकारी सम्पत्तिलाई
आफ्नो सरी रजाइँ गर्नेहरू
गर्नसम्म अपराध गर्ने
तर, राजनीतिका नाममा
माफी लिने र दिनेहरू
पार्टी कब्जा गरी
सत्तामा पारिवारिक
हैकम चलाउनेहरू
राजनीतिलाई तमाशा बनाउनेहरू
अब त पुग्यो
अब त अति भयो !
जय नेपाल