वासिङ्टन- के अमेरिका तानाशाहीतर्फ अघि बढ्दै छ ? यो प्रश्न उठ्नुको कारण त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो कार्यकालको चाहना व्यक्त गर्नु हो।
एनबीसी न्युजसँगको टेलिफोन अन्तर्वार्तामा उनले भनेका छन्, ‘धेरै मानिस चाहन्छन् म फेरि राष्ट्रपति बनुँ।’ उनले यसलाई ठट्टा नभई गम्भीर विषयका रूपमा प्रस्तुत गरेका छन्।
उनको यस अभिव्यक्तिले अमेरिकाको राजनीतिक वृत्तमा हलचल मच्चाएको छ। एनबीचसी न्युजलाई टेलिफोनमार्फत दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘यसबाहेक पनि तरिका छन्।’
वास्तवमा, अमेरिकी संविधानको २२ औं संशोधन सन् १९५१ मा लागू भएको थियो, जसले कुनै पनि व्यक्तिलाई दुई पटकभन्दा बढी राष्ट्रपति बन्नबाट रोक्छ। ट्रम्पको यो धारणा संविधानविपरीत देखिन्छ। खासमा, तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने चाहना रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले आजीवन पदमा बस्न सक्नेगरी गराएको संविधानको संशोधनबाट प्रेरित देखिन्छ।
रुसमा पुटिनले सन् २०२० मा संविधान संशोधन गरी २०३६ सम्म राष्ट्रपति बन्न सक्ने व्यवस्था गरे। यसअघि, उनले २००८-२०१२ को अवधिमा प्रधानमन्त्री बनेर अप्रत्यक्ष रूपमा सत्तामा पकड जमाएका थिए। उता, चीनमा पनि अमेरिकासरह राष्ट्रपति पदको दुई कार्यकालको सिमाना थियो। तर, २०१८ मा सी जिनपिङले संविधान संशोधन गर्दै राष्ट्रपति पदको सीमितता हटाए, जसका कारण अब उनी जीवनभर सत्तामा रहन सक्छन्।
ट्रम्पले पनि तेस्रो कार्यकाल सत्तामा रहने संकेत दिएपछि धेरैले उनी अमेरिकाजस्तो लोकतान्त्रिक मुलुकमा तानाशाही शैली अपनाउने बारे सोचिरहेको स्पष्ट भएको बताएका छन्। उनले सत्ता लम्ब्याउने योजनामा अमेरिकाभन्दा चीन र रुसकै शैलीबाट प्रभावित भएको अनुमान लगाउन सकिन्छ।
अमेरिका तानाशाहीतर्फ उन्मुख !
सीएनएनको रिपोर्टअनुसार अमेरिकी संविधान संशोधन गर्न कंग्रेसका दुवै सदनमा दुई तिहाइ बहुमत र ५० मध्ये ३८ राज्यहरूको अनुमोदन आवश्यक पर्छ, जुन अत्यन्त कठिन प्रक्रिया हो। तर, प्रश्न उठ्छ- के डोनाल्ड ट्रम्प पनि रुसका पुटिन र चीनका सीकै बाटो पछ्याउँदै छन् ?
रुसमा पुटिनले चुनाव नियन्त्रण गर्दै विरोधीहरूलाई जेल पठाउने रणनीति अपनाएका छन् भने चीनमा राष्ट्रपति सीले सोसल क्रेडिट सिस्टम र निगरानी प्रविधिमार्फत नागरिकहरूमाथि कडा नियन्त्रण बनाएका छन्। ट्रम्पले पनि सर्वोच्च अदालतलाई राजनीतिक हतियार बनाउने, असहमति दबाउने र न्याय प्रणालीमा हस्तक्षेप गर्ने प्रयास गरिरहेको देखिन्छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमै पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनको खुलेर प्रशंसा गरेका थिए। अमेरिकी लोकतन्त्रको मजबुत चेक एन्ड ब्यालेन्स प्रणालीले तानाशाही प्रवृत्तिलाई रोक्न मद्दत गर्छ। तर, ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिकी लोकतन्त्रलाई नयाँ चुनौती दिने संकेत देखिन्छ।
सम्भव छ तेस्रो कार्यकाल ?
अमेरिकी संविधानको २२ औं संशोधन (१९५१) अनुसार कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न सक्दैन। यो संवैधानिक व्यवस्था फ्र्यांकलिन डी. रुजवेल्ट चारपटक राष्ट्रपति बनेपछि लागू गरिएको थियो। उनी मात्र दुई कार्यकालभन्दा बढी पदमा रहेका अमेरिकाका एक मात्र राष्ट्रपति हुन्।
ट्रम्पले २०१७-२०२१ बीच पहिलो कार्यकाल पूरा गरिसकेका छन्। र, हाल २०२५-२०२९ का लागि दोस्रो कार्यकाल सम्हालिरहेका छन्। त्यसैले, संविधानमा परिवर्तन नगरी उनी २०२८ मा तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न सक्दैनन्।
संविधान परिवर्तन गर्ने उपाय छ ?
संविधान संशोधन गर्न अमेरिकी कंग्रेसका दुवै सदन (प्रतिनिधिसभा र सिनेट) मा दुई तिहाइ बहुमत आवश्यक पर्छ। त्यसपछि, ५० मध्ये कम्तिमा ३८ राज्यहरूले अनुमोदन गर्नुपर्छ। यो प्रक्रिया अत्यन्त जटिल छ र इतिहासमा यस्ता संशोधनहरू दुर्लभ छन्। हालको राजनीतिक अवस्थालाई हेर्दा यस्तो परिवर्तनको सम्भावना न्यून देखिन्छ।
ट्रम्पले सम्भावित बाटाहरू के देखिरहेका छन् ?
उनका सहयोगीहरू (जस्तै- स्टिभ ब्यानन) ले २२ औं संशोधन हटाउने वा परिवर्तन गर्ने प्रयास गर्न सक्ने बताएका छन्। तर, त्यसका लागि रिपब्लिकन पार्टीभित्रबाट पनि व्यापक समर्थन आवश्यक पर्छ, जुन अहिलेको अवस्थामा सम्भव देखिँदैन।
कंग्रेसमा ट्रम्पको समर्थनको अवस्था
प्रतिनिधिसभामा रिपब्लिकन पार्टीको बलियो पकड छ तर सिनेटमा डेमोक्र्याटहरू अग्रस्थानमा छन्। त्यसैले, संविधान संशोधन गर्न आवश्यक कानूनी प्रक्रिया अघि बढाउन ट्रम्प सहज स्थितिमा छैनन्।
ट्रम्पले अन्तर्वार्तामा के भनेका थिए ?
एनबीसी न्युजकी पत्रकार क्रिस्टन वेल्करले तेस्रो कार्यकालको सम्भावनाबारे सोध्दा, ट्रम्पले भनेका थिए, ‘धेरै मानिस चाहन्छन् म यसबारे सोचुँ।’ जब उनलाई सोधियो, उनले मजाक गरेका हुन् कि होइनन् ? ट्रम्पले स्पष्ट शब्दमा भने, ‘म मजाक गरिरहेको छैन।’
के ट्रम्प उपराष्ट्रपति बनेर राष्ट्रपति बन्न सक्छन् ?
केही राजनीतिक विश्लेषकहरूले ट्रम्पले उपराष्ट्रपति उम्मेदवार जेडी भान्सलाई राष्ट्रपति उम्मेदवार बनाउने, आफू उपराष्ट्रपति बन्ने र भान्सलाई राजीनामा गराएर राष्ट्रपति बन्ने अनुमान गरेका छन्।
तर, अमेरिकी संविधानको १२ औं संशोधनअनुसार राष्ट्रपति पदका लागि अयोग्य व्यक्ति उपराष्ट्रपति बन्न सक्दैन। त्यसैले, यो योजना कानूनी रूपमा सम्भव देखिँदैन।
अतः संविधानअनुसार, ट्रम्पको तेस्रो कार्यकाल सम्भव छैन। संविधान संशोधनको प्रक्रिया कठिन भएकाले ट्रम्पले तेस्रोपटक राष्ट्रपति बन्ने सम्भावना न्यून देखिन्छ। यद्यपि, उनले आफ्ना अभिव्यक्तिहरूबाट अमेरिकी राजनीतिमा नयाँ बहस सिर्जना गरेका छन्।