काठमाडौं- १० र १४ मार्चमा नेपालमा रहेका तिब्बती शरणार्थीले काठमाडौं, पोखरालगायत शिविरबाहिर निस्केर चीनविरुद्ध प्रदर्शन गर्ने शंका पाएका काठमाडौं महानगरीय प्रहरीका एक अधिकृतले तिनका नेताहरूलाई कार्यालयमा बोलाए। बौद्धस्थित तिब्बती शरणार्थीको सावारा सेटलमेन्ट कार्यालयका प्रमुखलगायत नेताहरू प्रहरीले बोलाउनासाथ उपस्थित भए।
त्यस क्रममा ती अधिकृतले १० र १४ मार्चमा उनीहरूले आयोजना गर्न लागेका कार्यक्रमहरू बारे जिज्ञासा राखे। सावारा सेटलमेन्ट कार्यालयका प्रमुखलगायत नेताहरूले नेपालमा त्यस्तो कुनै कार्यक्रम आयोजना गर्ने तयारी नरहेको बताए।
त्यसपछि ती अधिकृतले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसमा आँच आउने गरी कुनै कार्यक्रम आयोजना गरिएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए। ‘मैले उनीहरूलाई नेपाल एक चीन नीतिप्रति शुरुदेखि नै प्रतिबद्ध रहेको र नेपाली भूमिमा चीनविरोधी कुनै पनि प्रकारका गतिविधि असह्य हुने चेतावनी दिएँ,’ उनी भन्छन्, ‘नेपाललाई अप्ठ्यारो पर्ने कुनै पनि गतिविधि गरेमा तिमीहरू माथि बल प्रयोग गर्ने चेतावनी दिएँ। शिविरभित्रै पनि चीनविरोधी गतिविधि गरेमा प्रहरीले शिविरमै पसेर हस्तक्षेप गर्नेछ भनेर चेतावनी दिएको थिएँ।’
उनका अनुसार सोही चेतावनीले काम गर्यो, उनी मातहतको क्षेत्रमा रहेका तिब्बती शरणार्थीका शिविरमा भित्र र बाहिर कुनै गतिविधि भएन। कतिसम्म भने विगतमा शिविरभित्र १० र १४ मार्चमा विगतमा पूजा गर्ने गर्थे, यसपटक त्यो पनि भएन।
२४ अक्टोबर १९५१ मा १४औं दलाई लामाले तिब्बतलाई जनवादी गणतन्त्र चीनको अंगका रूपमा स्वीकार गर्दै १७ बुँदे सम्झौतामा हस्ताक्षर गरेपछि तिब्बत आधिकारिक रूपमा चीनको अधिनस्थ बनेको थियो। त्यसको ८ वर्षपछि त्यसविरुद्ध १० मार्च १९५९ मा तिब्बतीहरूको एक झुण्डले विरोध प्रदर्शन शुरु गरेको थियो। तिब्बतबाट भागेर नेपाल, भारतलगायत मुलुकमा बसिरहेका तिब्बती शरणार्थीहरूले १० मार्चलाई ‘टिबेट अपराइजिङ डे’को नाम दिएर दिवस मनाउँदै आएका छन्।
यस्तै, १४ मार्च १९५९ मा ल्हासास्थित पोताला दरबार अघिल्तिर जम्मा भएर तिब्बती महिलाहरूले चीनविरोधी प्रदर्शन गरेका थिए। त्यसको नेतृत्व गुर्टेङ कुन्साङले गरेका थिए। सन् २००८ मा पनि १४ मार्चमै खासगरी पश्चिमा मुलुकहरूको विदेशी उक्साहटमा ल्हासामा दंगा भड्किएको थियो।
यी दिनको सम्झना गर्दै तिब्बती शरणार्थीहरूले नेपालका शिविरलगायत संसारभर प्रदर्शन गर्ने गरेका छन्। तथापि, पछिल्ला वर्षहरूमा तिब्बती शरणार्थीहरूले नेपालमा सार्वजनिक रूपमा चीनविरोधी गतिविधि गरेका छैनन्। सन् २००७ देखि २०१४ सम्म तिब्बती शरणार्थीहरूले काठमाडौं, पोखरा, पूर्वी नवलपरासीलगायत आफ्ना शिविर रहेका स्थानहरूमा बेला-बेलामा चीनविरोधी प्रदर्शनहरू गरेका थिए। त्यसयता त्यस्ता प्रदर्शनमा नेपाल सरकारले कडा नजर राख्न थालेपछि नेपालमा रहेका तिब्बती शरणार्थीहरूले कुनै सार्वजनिक कार्यक्रम गरेका छैनन्।
त्यतिबेला पनि टिबेटन युथ कंग्रेस (टीवाईसी)को ब्यानरमा भारतको धर्मशालाबाट आएका ‘न्यू एज नेटवर्क’ र ‘भोलेन्टियर्स ग्रुप’ नामक संगठनका कार्यकर्ताहरू काठमाडौंस्थित चिनियाँ दूतावास, कन्सुलर अफिस, ठमेल, बौद्ध, स्वयम्भू, एकान्तकुनालगायत ठाउँमा प्रदर्शनमा सहभागी भएको देखिन्थ्यो। टीवाईसीकै नेता-कार्यकर्ताहरू पनि भारतबाटै आएर प्रदर्शनमा सहभागी हुन्थे। अहिले ती संगठनका नेता-कार्यकर्ताहरू अमेरिका, क्यानाडा, युरोपेली मुलुक र अस्ट्रेलियातिर भासिइसकेको पोखराको हेम्जास्थित टासी पाल्के तिब्बती शरणार्थी शिविरका एक बासिन्दा बताउँछन्।
उनी भन्छन्, ‘नेपालमा रहेका हामीलाई भारतबाट आएका समूहहरूले व्यवसाय गरिखान मुस्किल बनाएका थिए। नेपालमा रहेका हामी त्यतिबेला पनि धेरै सक्रिय थिएनौं, अहिले पनि हामी नेपाली भूमिमा नेपाललाई अप्ठ्यारो पार्ने गरी कुनै कार्यक्रम गर्दैनौं।’
पोखराकै एक शरणार्थी नेता पनि नेपाललाई अप्ठ्यारो पार्ने गरी कुनै गतिविधि नगर्ने सोच प्रष्ट्याउँछन्। भन्छन्, ‘हामीलाई नेपालले शरण दिएको छ, त्यो नै ठूलो कुरा हो। नेपाल सरकारसँग हाम्रा थुप्रै असन्तुष्टि छन्। तर, नेपाललाई अप्ठ्यारो पार्ने कुनै गतिविधि गर्ने छैनौं। भारतबाट आएर नेपालका कुनै पनि ठाउँमा कुनै पनि प्रकारका गतिविधि नगरिदिन उताका साथीहरूलाई पनि भन्दै आएका छौं।’
काठमाडौंको बौद्ध क्षेत्रलाई तिब्बती शरणार्थीहरूको मुख्य बसोबास रहेको इलाका मानिन्छ। र, त्यस इलाकालाई अति संवेदनशील सूचीमा नेपाल प्रहरीले राखेको छ। किनकि, यसअघि तीनजना तिब्बती शरणार्थीले बौद्ध क्षेत्रमै आत्मदाह गरेका थिए। विवादमा आउने भयका कारण तिब्बती नेताहरू हम्मेसी सार्वजनिक सम्पर्कमा आउन रुचाउँदैनन्।
भारतपछि नेपालमा सबैभन्दा धेरै तिब्बती शरणार्थी छन्। नेपालको गृह मन्त्रालयमा अनुसार अहिले नेपालमा १४ हजार ९१९ तिब्बती शरणार्थी छन्। उनीहरूमध्ये १० हजार ८१४ जना बयस्क ४ हजार २०५ जना बालबालिका हुन्।
मुस्ताङ, डोल्पा, गोरखा र रसुवाको बाटो हुँदै नेपाल झरेका शरणार्थीको नेपालमा चौथो पुस्ता बसोबास गरिरहेको छ। मुस्ताङमा रहेका तिब्बती शरणार्थीहरूले स्याउ खेती गर्दै आएका छन्। बागलुङको ढोरपाटनमा रहेकाहरू आलुलगायत खेतीमा संलग्न छन्। उनीहरू मध्ये धेरैजना अहिले नेपालकै विभिन्न शहरमा बसाईं सरेका छन्।
पोखराका तिब्बती शरणार्थीहरूले शिविरभित्रै सामान उत्पादन गर्छन् र पोखराको बजारमा ल्याएर विदेशी पर्यटकलाई बिक्री गर्छन्। उनीहरूका आफ्नै पसल पनि पोखरा, काठमाडौंमा छन्।
काठमाडौंका बौद्ध, स्वयम्भूलगायत शिविरमा ६ हजार १३४ जनाले शरणार्थी परिचय पत्र (आरसी) पाएका थिए। पोखराका १ हजार ९२४ जनामध्ये एक हजार ३७२ जनाले आरसी पाएका छन्। यस्तै, ललितपुर जिल्लाको एकान्तकुनास्थित शिविरका १ हजार ३२१ जनाले आरसी पाएका छन्। मुस्ताङमा १३१ लाई आरसी दिइएको थियो। सोलुखुम्बुमा ६०६ र दोलखामा ८२ जनामा ३४ जनाले आरसी पाएको गृह मन्त्रालयको तथ्यांकले छ। यस्तै, मनाङमा ४१९ मध्ये १०३ र सिन्धुपाल्चोकमा १२९ ले आरसी पाएका थिए। ताप्लेजुङमा ७८ जनाले आरसी पाएका थिए।
गोरखामा १३ जनाले आरसी पाएका थिए। नवलपरासीमा १०९ जनालाई आरसी दिइएको थियो। जुम्लामा ७, बागलुङमा २७, रसुवामा १६४ र भक्तपुरमा १८ जना तिब्बती शरणार्थी भेटिएका थिए। तनहुँमा ४४८, दार्चुलामा १०, इलाममा ५०, संखुवासभामा ३३, डोल्पामा ६९८ र हुम्लामा दुई जना भेटिएका थिए।
सन् १९९३ को गणनामा भेटिएका १२ हजार ५४० तिब्बती शरणार्थीमध्ये तीनपटकमा १० हजार ७६६ जनाले आरसी पाएको देखिन्छ। तर, अहिले आरसी वितरण प्रक्रिया नेपाल सरकारले बन्द गरेको छ। पछिल्लोपटक सन् १९९४ मा मात्र आरसी वितरण गरिएको थियो। त्यसयता कुनै पनि तिब्बती शरणार्थीले आरसी पाएका छैनन्।
गृह मन्त्रालयका अनुसार अहिले नेपालमा काठमाडौंका बौद्ध र स्वयम्भू, ललितपुरको जावलाखेल (एकान्तकुना), कास्कीका पोखरा र हेम्जा, नवलपरासी, सिन्धुपाल्चोक र तनहुँमा मात्र तिब्बती शरणार्थी शिविर छन्। अन्यत्रका शिविर खाली भइसकेका छन्।
युवापुस्ता धमाधम विदेशिँदै
तिब्बती मामिलाका जानकार एक उच्च सुरक्षा अधिकारी नेपालमा रहेका तिब्बती शरणार्थीहरू मध्ये युवा पुस्ता विदेशतिर पलायन भइरहेको बताउँछन्। भन्छन्, ‘कुनै न कुनै भेषमा उनीहरू भारत पुग्छन्। र, उतैबाट डकुमेन्ट बनाएर युरोप, अमेरिका र अस्ट्रेलियातिर पलायन हुन्छन्। नेपालमा बसिरहेका बुढा पुस्ता आन्दोलन र प्रदर्शन गर्न सक्ने अवस्थामा छैनन्। त्यसैले हामीले १० र १४ मार्चको आसपासमा उनीहरूका गतिविधि त निगरानी गर्छौं तर चीनविरुद्ध ठूलो प्रदर्शन गर्न सक्ने हैसियतमा उनीहरू छैनन्। त्यसै पनि त्यस आसपासमा सुरक्षाकर्मीले उनीहरू माथि कडा नजर राखिरहेका हुन्छन्।’
उनका अनुसार व्यापारमा संलग्न अधिकांश तिब्बती शरणार्थीहरू चीनविरोधी प्रदर्शनका लागि इच्छुक देखिँदैनन्। ‘हाम्रा मानिसहरू उनीहरूसँग निरन्तर भेटघाटमै हुन्छन्। उनीहरूलाई नै लक्षित गरेर उनीहरूका शिविर रहेका क्षेत्रमा हामीले सुरक्षाकर्मी खटाएका छौं। यसपटक पनि नेपालमा रहेका तिब्बती शरणार्थीहरूले काठमाडौं, पोखरालगायत शहरमा चीनविरोधी गतिविधि गरेको देखिएन,’ उनी भन्छन्।
काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला)का एक उच्च प्रहरी अधिकारीका अनुसार तिब्बती शरणार्थी शिविरभित्र भने प्रहरीका पोस्ट छैनन्। त्यसैले शिविरभित्र उनीहरूले के गतिविधि गर्छन् भन्ने जानकारी पाउन मुस्किल छ। र, शिविरभित्र बाहिरका व्यक्तिहरूलाई सहज प्रवेश पनि दिइँदैन। शिविरबाहिर भने १० र १४ मार्चलाई मध्यनजर गरेर निगरानी कडा बनाइएको उनी बताउँछन्।
काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार यसपटक अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएको र उनको प्रशासनले चीनविरोधी नीति लिएका कारण नेपालमा तिब्बती शरणार्थीहरूलाई चीनविरुद्ध आन्दोलनमा उक्साउन सक्ने जोखिमका कारण निगरानी बढाइएको थियो। उनी भन्छन्, ‘हामीले तिब्बती शरणार्थीका शिविर वरिपरि तथा काठमाडौंस्थित चिनियाँ दूतावास र कन्सुलर अफिस आसपास निगरानी बढाएका थियौं। र, शरणार्थीहरूले नेपालको भूराजनीतिक संवेदनशीलता बुझिदिएको पायौं।’