अब त गाउँमा खेती हुनै छाड्यो
गाई भैंसी पनि देखिन छाडे
सुँगुर, भेडा पनि पाल्नै छाडे
बड्का भलमन्सा गुनासो गर्दै थे
आफ्ना भतिजा ठग्गासँग !
खेततिर लाग्ने गाउँलेको लस्कर
कोही गल्फतिर
कोही पारि बेलरायाँ, तिकुनिया
हुँदै रेल चढी भारतको
कुनाकाप्चा जान सोझिएको छ !
हलो फरुवा चलाउने हात
दिनरात मोबाइलमा घुम्न थालेका छन्
बिहानै गाई भैंसीको बाँ, आईंको सट्टा
मोटरसाइकलको ढ्यार ढुर
सुनिन थालेको छ !
ढिकरीको ठाउँ चाउचाउले लिएको छ
जाँडको सट्टा पोके चलेको छ
कुलामा सुर्तीको बोटको सट्टा
गुटका, खैनीका खाली खोल
फल्न थालेका छन्
अब त फूल पनि बेमौसम फुल्न थाले
फल पनि बेस्वाद हुन थाले
लहलहाउने खेतका फाँटमा
प्लटिङ गर्ने दलालका
मोटरका लस्कर दौडिन थाले !
अब त ठग्गा
बारीमा रसायन नहाली
तरकारी बढ्नै छाडे
कुला, चटियामा गए
हेल्का टिपमा
माछा पर्नै छाडे
आजकाल तेरो काकीको जिउमा
दौना होइन
अत्तरको बास गनाउँछ
जिउमा लेहंगा होइन
नयाँ फेसनका कुर्ता सुरुवाल झुलिन्छ
जबदेखि बिजुलीको ट्याम्पु आयो
गाउँले दुई कदम पनि हिँड्न छाडे
गाउँघरमा नदेखिने
नयाँ रोग देखिन थाले
रुखमा बिहानै कराउने
चराले पनि बोल्न छाडे
कुखुरा पनि हिन्दी सिनेमाको
गीतको नक्कल गर्न थाले
कता हराए मौसम अनुसारका त्यौहार ?
कता हरायो त्यो रमझम ?
प्लास्टिकको टुल आएपछि
कता हराए मचिया, बेररी ?
डोरीको खटियामा दरी
बिछ्याएर गरेको आराम
प्लाइउडको पलङमा
कहाँ पाउनु रे ठग्गा !
अब अर्गानिक खोज्न गाउँ हैन
शहरतिर जानुपर्छ
पुराना मौलिकता खोज्न
संग्रहालयमा चिहाउनुपर्छ !
यस्तै हो पुराना कुरा
सम्झनामा मात्रै हुनेछन्
मौलिकतालाई आधुनिकताले
मारेरै छाड्ने छ !