समाजवादको हल्ला गर्ने
दुवै पार्टीको भेला सँगै हुन पुग्यो
Advertisement
महँगा चम्किला गाडी
सुटमा सजिएका
अरू कमरेडहरूसँग
आफ्नै गाउँका गफाडी
लौटनलाई टीभीमा देखेपछि
बडका भलमँसाले ठग्गालाई भने-
ए भतिज, यो त बडा समाजवाद
गाउँघरको विकासको कुरा गर्थ्यो
आफ्नै विकास पो गरेको रहेछ !
हो काका ! अस्ति काठमाडौ गएको त
भौजी चेनलको ब्याग र
फिलिपे घडी किनेको भनेर
गफ छाँटिरहेकी थिइन् !
उतै बस्ने, गाउँ नफर्कने
भन्दै थिइन् भौजी
काठमाडौंबाट फिर्ता आउँदा
चिलगाडीमा पठाएको थियो
खर्च पनि खल्तीमा
हालिदिएको थियो लौटनले काका !
डाका भएछ लौटन !
जिताएर पठाएको
आफ्नो व्यवस्था गर्ने होइन कि
गाउँ बनाउने भनेर हो भतिज !
चिन्न सकिएन
तेरै काकीको सिफारिस त हो
कस्तो गलत मान्छे छानेको
जो पठाए पनि सबै त्यस्तै भए
कसलाई पठाउने ?
८४ मा राम्ररी विचार गर्नुपर्ला
काकीको हैकम चले
फेरि लौटन आउनु बेर छैन काका !