नयाँदिल्ली- आजकाल धेरै मानिस आफ्नो शरीरलाई आवश्यक पोषणका लागि सप्लिमेन्टहरूमा निर्भर हुन थालेका छन्। तथापि, दैनिक खानपानमै पर्याप्त ध्यान दिन सके सप्लिमेन्टहरू सेवन गर्न कदापि आवश्यक छैन।
उदाहरणका लागि दुग्धजन्य उत्पादन, जुनेलो र तिलका दाना नियमित खानामा सामेल गर्न सके शरीर तन्दुरुस्त राख्न मद्दत पुग्छ। ती खाद्यवस्तुबाट हड्डी र दाँतलाई मजबुत राख्न आवश्यक क्याल्सियम प्राप्त हुन्छ।
यस्तै, खजुर, सख्खर, मुसुरोको दाल र पालुंगोको सागको नियमित सेवनबाट शरीरमा आइरनको मात्रा प्रशस्त प्राप्त हुन्छ। यी खाद्यवस्तु नियमित खाँदा रक्तअल्पता (एनिमिया), थकान र रोग प्रतिरोधक क्षमता कमजोर हुनबाट जोगिन सकिन्छ।
यी खाद्यवस्तुबाट फाइबर र एन्टीअक्सिडेन्ट पनि प्रशस्त प्राप्त हुन्छ। शरीरमा म्याग्नेसियम प्राप्त गर्न पालुंगोको साग, नट्स, गहुँ, जौजस्ता खाद्यपदार्थले ठूलो मद्दत पुर्याउँछन्।
दाल र फर्सीको बीउबाट रोग प्रतिरोधात्मक क्षमता र शरीरमा लाग्ने चोटपटक चाँडो निको हुने र डीएनलाई सही तरिकामा काम गराउने जिंक प्राप्त हुन्छ। यी खाद्यवस्तुले छाला, कपाल र नङको स्वास्थ्यमा पनि लाभ दिलाउँछन्। जिंकले ब्याक्टेरिया र भाइरसबाट लड्ने क्षमता विकास गराउँछ।
यस्तै, ओमेगा-३ फ्याट्टी एसिड प्राप्त गर्न चिया, फ्लेक्ससिड र ओखरको नियमित सेवनबाट मद्दत पुग्छ। ओमेगा-३ फ्याट्टी एसिडले मस्तिष्कको स्वास्थ्यमा राम्रो नतिजा दिन्छ। र, ट्राइग्लिसराइडलाई कम गरेर मुटुरोगको जोखिम घटाउँछ।
यसैगरी, शरीरमा मेलाटोनिनको मात्रा पूरा गर्न च्याउ, ओट्स र अण्डाको नियमित सेवन आवश्यक छ। मेलाटोनिनले नै सुत्ने र उठ्ने नियमित चक्रलाई व्यवस्थित बनाउँछ। र, शरीरको सर्केडियन रिदमलाई नियन्त्रित गर्छ।
भास्कर डट कमबाट