व्यापारीको पछि-पछि घण्टी बजाउँदै
हिँडेको देख्दा बुझ्न गाह्रो भएन
सरकार कसले चलाउँदो रहेछ
देश कसको जिम्मा लगाइएको रहेछ
कहलिएका ब्रान्डका
जुत्ता, घडी, चश्मा भिरेर
आफू बुटिक भएपछि
अब कार्यालय पनि बुटिक
बनाउनैपर्ने भो
टुरिस्ट आएर हेरेर धन्य हुने
दर्शनीय स्थल बनाउनैपर्ने भो
देश, जनता जाऊन् भाँडमा
इटालियन मार्बलले फर्स चम्काउनुपर्छ
भुईं इरानी कालिनले सजाउनुपर्छ
बोका डो लोबोको फर्निचरले
कार्यालय सजाउनुपर्छ
गिवान्ची रोयल ह्यानोभरका
झाडफानुस झुण्ड्याउनुपर्छ
दुई किलोमिटर पर सुनिने
कलकल बग्ने झरनाले
मोहित गर्ने बनाउनुपर्छ
पुँजीवादी राष्ट्रका राष्ट्र प्रमुख आउँदा
जिब्रो टोक्ने पार्टी कार्यालय बनाउनैपर्छ
जाऊन् नेपाली झोला बोकी
गल्फ, भारतका कुना-काप्चातिर
भोको नांगो बस
गर्दै गर समाजवादको गफ
भुँडी पल्टाउँदै
ठूला घरे काका भन्दै थिए-
तिमी टुटेको झुपडीमा बस्दै गर
नाईं मलाई त यस्तै घर चाहिन्छ