भैंसी दुहुन बाल्टी बोकेर अमेरिका
गएको खबर सुनेर
बडका भलमन्साका भैंसीले
दूध दिन बन्द गरे
Advertisement
बडका भलमन्साले ठग्गालाई
भैंसीसँग कुरा गर्न पठाए
माउ भैंसीले भनिन्-
नेपालमा दूध फालफाल हुँदा
सार्वजनिक हाँक दिँदै
नेपालबाटै बाल्टी बोकेर
दूध दुहुन अमेरिका जाने ?
हाम्रो बेइज्जत गर्ने ?
हामी दूध दिन सक्दैनौं भनेर
विश्वमा गलत प्रचार गर्ने ?
अब यो सूचना नेपालभरि पठाउँछौं
त्यसपछि सबैले दूध दिन बन्द गर्ने छन्
अहिलेसम्म सस्तोमा
दूध खाइराखेका नेपालीले
त्यै अमेरिकाबाट ल्याएको
महँगो दूध खानु अबदेखि
ठग्गाले बडका भलमन्साको
सन्देश सुनाए
माउ भैंसीले भनिन्-
अब तिमीहरूको कुरा सुन्दैनौं
अमेरिका दूध दुहुन जानेलाई पठाऊ
उनीसँगको वार्तापछि मात्रै
के गर्ने निर्णय गरौंला
त्यसपछि तिमीलाई
जानकारी गराउँला