आँगनको खाटमा बसी बडका भलमन्सा
डाँको छाडी रुँदै थिए
रोएको स्वर सुनी ठग्गा दौडिँदै आए
के भो काका ? किन रोएको ?
Advertisement
भलमन्साले रुँदै भने- भतिज
मेरो सहकारीमा राखेको पैसा
लुटेर भागेको मान्छे त
सांसद भएको रहेछ !
बस चढी काठमाडौं
संसद भवन पुगें
त्यहाँ रहेका पुलिसलाई
आफ्नो पीडा सुनाएको त
कुनचाहिँ सांसद पो भन्दो रहेछ
यहाँ त अरू पनि छन् रे सहकारी ठग
अस्तिदेखि नै नेपालभरिबाट पीडितहरू
खोज्न आएकै आए छन्
गाउँतिर गए समाउँछन् भनेर
यहाँबाट बाहिर पनि
निस्कन मान्दैनन् रे
एक जनाले त
नीलो लुगा लगाएर पनि
हिँड्ने गरेका छन्
खबरदार मलाई समाते
सबलाई ठीक पार्छु भन्दा रहेछन्
हरे राम ! के जमाना आयो ?
जो चोर उसकै ठूलो स्वर
यस्ता ठगी खानेलाई
कहिलेसम्म नेता मान्ने ?
भनी बडका भलमन्सा
राजमार्गतिर धर्ना बस्न हिँडे