नयाँदिल्ली- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मोबाइल चलाउँदा क्यान्सर नहुने प्रष्ट पारेको छ। तर, लगातार मोबाइल चलाउँदा अन्य स्वास्थ्य समस्या भने देखिने प्रष्ट्याएको छ।
डब्लूएचओले गरेको अध्ययनमा मोबाइल फोन र क्यान्सरबीच कुनै सम्बन्ध देखिएन। क्यान्सर भइसकेका व्यक्तिमा पनि मोबाइल चलाउँदैमा समस्या नबढ्ने डब्लूएचओको स्पष्टोक्ति छ।
यस अध्ययनको नेतृत्व अस्ट्रेलियन रेडिएसन प्रोटेक्सन एन्ड न्युक्लियर सेफ्टी एजेन्सीले गरेको थियो। र, सन् १९९४ देखि २०२२ सम्म प्रकाशित ६३ वटा सटिक अध्ययनहरूको रिभ्यू गरिएको थियो। र, मोबाइल र क्यान्सरबीच कुनै सीमा सम्बन्ध नरहेको निष्कर्ष निकालिएको थियो।
संसारभर मोबाइलको रेडियो वेभले मस्तिष्क, टाउको र घाँटीको क्यान्सर गराउने भ्रम व्याप्त छ। त्यसैलाई चिर्ने प्रयास डब्लूएचओले गरेको हो।
तथापि, अधिक समय मोबाइल फोन चलाउँदा फोकस कम हुने, एटेन्सन स्प्यान कम हुने र आँखाको स्वास्थ्यमा गम्भीर असर पर्ने भने वैज्ञानिक अध्ययनमा प्रमाणित तथ्य हो।
सन् १९९४ मा पहिलोपटक स्मार्टफोन बजारमा आएको हो। र, अहिले संसारको ७० प्रतिशत जनसंख्यामा यसको पहुँच छ। तर, यसको अत्यधिक प्रयोगका कारण स्वास्थ्य समस्याहरू बढेका छन्।
मोबाइल प्रयोगबाट यी समस्या
– निन्द्रा प्रभावित हुन्छ
– आँखामा असर पर्ने भएकाले दृष्टि क्षमता कमजोर हुन्छ
– तनावको स्तर ह्वात्तै बढ्छ
– लत र परनिर्भरता बढ्छ
– एटेन्सन स्प्यान कम हुन्छ
– सहनशीलताको स्तर घट्छ
– बालबालिकाको शारीरिक-मानसिक विकास प्रभावित हुन्छ
कुन देशमा औसत कति घण्टा मोबाइल प्रयोग ?
– फिलिपिन्स- ५ घण्टा २० मिनट
– ब्राजिल- ५ घण्टा १९ मिनट
– दक्षिण अफ्रिका- ५ घण्टा १५ मिनट
– थाइल्यान्ड- ५ घण्टा २ मिनट
– भारत- ४ घण्टा ३ मिनट
– रुस- ३ घण्टा ५६ मिनट
– इजराइल- ३ घण्टा ५२ मिनट
– अमेरिका- ३ घण्टा ३९ मिनट
– चीन- ३ घण्टा ३१ मिनट
– जापान- १ घण्टा ५४ मिनट