काठमाडौंको नयाँ
राजनीतिक सरगर्मी बढ्नासाथ
लाखौंका घडी लगाएका
लेटेस्ट मोबाइल बोकेका
सत्ता कब्जाको खेलका लागि
महँगा गाडीमा दौडेका अनुहार देख्दा
काठमाडौंको स्वार्थी राजनीतिसँग
सरोकार नभएका
च्यातिएका लुगा लगाएका
खेतमा हिलोसँग पौंठेजोरी खेल्दै गरेका
दुई छाक राम्ररी खान नपुग्ने
मैले मेरो गाउँका किसान सम्झें
सिंहदरबार र काठमाडौंका तारे होटलमा
किसानको नामको
राजनीतिक नारा लगाएको
नीति बनाएको
बजेट छुट्याएको
मेरा गाउँका किसानलाई थाहा पनि छैन
यिनका लागि होइन पनि
ती सबै
काठमाडौंका महलमा बस्ने
खेतीबारी नभएका किसानको
लुटिखाने भाँडो रहेछ
नयाँ गठबन्धनको
प्राथमिकतामा किसानका
हकहितका बारेमा पनि लेखिने छ
जसको जानकारी किसानलाई हुने छैन
अर्को वर्ष यही खेतीको समयमा
किसान फेरि यस्तै
सुकेनास लागेको शरीर
च्यातिएकै लुगामा देखिने छन्
सत्ताधारी यिनका नाममा
विदेशी ऋण लिने
र अनुदान चम्पत पार्ने
नयाँ योजना बनाउँदै ठिक्क हुनेछन्
यिनका दुःख
यिनको समस्या
यिनको गनगन
कसले सुन्ने, कसले हेर्ने
त्यो गाउँमा गलफत्ती गर्ने विषय हुनेछ
यिनको समस्या गाउँघरमा यिनीसँगै रहने छ