काठमाडौँ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकबाट प्राप्त २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणको सहयोगमा निर्माण भइरहेको विमानस्थल ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।
विमानस्थलमा मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सम्पन्न भएसँगै चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार सांकेतिक रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको विमानस्थल आयोजना प्रमख विनेश मुनंकर्मीले बताए ।
उनका अनुसार आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनका परराष्ट्रमन्त्री वाङले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्ने कार्य तालिका रहेको छ । सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्ने भएका छन् ।
विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवन, ट्याक्सी वेलगायत मुख्य काम सकिएका छन् ।
विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले विमानस्थलका मुख्य काम सबै सकिएको र सामान्य केही काम मात्र बाँकी रहेको जानकारी दिए । सरकारले यसै वर्षभित्रमा विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
डाँडा कटानका लागि मन्त्रिपरिषद्ले पूरक प्रतिवेदन पेश गर्ने र वनसँग सम्झौता गर्ने गरी दुई पूर्व शर्तसहित यसअघिनै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको थियो । पूरक प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको र स्वीकृतिको चरणमा रहेको अधिकृत फुयाँलले बताए ।
विमान उडान र अवतरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकाओ)का मापदण्डअनुसार सो डाँडा ४० प्रतिशत कटान गर्नु पर्ने देखिएको आयोजनाले जनाएको छ ।
निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । यसका लागि सन् २०१४ मे २२ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो । त्यसपछि सन् २०१६ मार्च २१ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको जुन ५ मा सरकार र क्यानबीच सहुलियत ऋण सम्झौता भएको थियो । यससँगै पोखरा विमानस्थलको कार्य सुरु भएको थियो ।