काठमाडौँ । पर्यटन विभागले सरकारलाई बुझाउनु पर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनोलाई अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र झण्डै ९० करोड ५६ लाख रुपैयाँ बक्यौता बुझाउन अल्टिमेटम दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बक्यौता रकम असुल गराउन अल्टिमेटम दिन बुधबार मन्त्रिस्तरीय निर्णय गराएसँगै तीन क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए ।
‘मन्त्रीज्यूले मन्त्रिस्तरीय निर्णय गरी बक्यौता बुझाउनका लागि अल्टिमेटम दिन निर्णय गर्नु भएको छ,’ उनले भने, ‘हामीले रकम बुझाउन पाँच दिनको सूचना प्रकाशन गरेका छौँ, नबुझाए कारबाही हुन्छ ।’
विभागले एक सार्वजनिक गरेको सूचनामा रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड रुपैयाँ बक्यौता रहेको जनाएको छ ।
ती कम्पनीले पाँच दिनभित्रमा बक्यौता रकम नबुझाए कानुनी कारबाही हुने विभागले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । हालसम्म १७ कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड राजस्व संकलन भएको विभागले जनाएको छ ।