विज्ञहरूका अनुसार समाजमा मानिसहरूले खुलेआम उपयोग गर्ने मदिरा तथा सुर्तीजन्य पदार्थ नै अरूका लागि दुर्व्यसनको प्रेरणा बन्ने गर्छन्। आफ्नै वरपरका आफन्त र साथीभाइले सेवन गरेको देखेर प्रयोग गर्ने कारणलाई मनोसामाजिक कारण भन्ने गरिएको छ। के कस्तो हुन्छ भन्ने कौतुहलताका कारण पहिलोपल्ट सेवन गर्ने कारणले लत बस्दै कडा खालका लागूऔषधको दुर्व्यसनसम्म पुग्ने गरेका उदाहरणहरू प्रशस्तै भेटिन्छन्।
शुरुमा आनन्द र खुशीका लागि सेवन गरेकाहरू पछि शारीरिक आवश्यकताका लागि सेवन गर्न बाध्य भएका छन। नेपालमै गरिएको लागूऔषध सर्वेक्षण, २०७६ अनुसार ८० प्रतिशत प्रयोगकर्ताहरू गाँजाको सेवन गर्छन्। सर्वेक्षण अनुसार १ लाख ३० हजारको हाराहारीमा लागूऔषध प्रयोगकर्ता रहेको देखाइएको छ। २० देखि २९ वर्ष समूहका युवाको संख्या ६९ प्रतिशत देखिएको छ। ९६ प्रतिशत लागूऔषध प्रयोगकर्ताहरूले साथीभाइबाट सिकेको देखिएको छ।
लागूऔषधको प्रवेशद्वारको रूपमा मानिएको सुर्तीजन्य पदार्थको सेवन हुँदै क्रमशः कडाखालका लागूऔषधमा पुग्ने तथ्य प्राप्त भए पनि सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन नियमन गर्ने कार्य प्रभावकारी हुन सकेको छैन, कानूनले नै बाध्यकारी बनाएका प्रावधानहरू समेत बेवास्ता गर्ने कारणले भोलिको पुस्ता बर्बादीको अवस्थामा पुग्दै गरेको देखिन्छ।
‘सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन, २०६८’ अनुसार सार्वजनिक क्षेत्रको १०० मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवन गर्न नपाइने कानूनी प्रावधान छ। ऐनले तोकेको सार्वजनिक स्थलमा राज्य तथा सरकारी निकाय संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण केन्द्र, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना, कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेस्टुराँ, बार, भोजनालय, चमेनागृह, छात्रावास तथा अतिथिगृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन, व्यायाम हल, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारी साधनका प्रतीक्षालय र टिकट काउन्टर छन्।
यसका अलावा अन्य कुनै ठाउँको महत्त्वका आधारमा नेपाल सरकारले राजपत्रमा सार्वजनिक स्थलको रूपमा तोक्ने अधिकारसमेत ऐनले दिएको छ।
कानूनमा यस्तो प्रावधान रहे पनि थोरै सार्वजनिक स्थलमा मात्रै सुर्ती तथा मदिराजन्य पदार्थको बेचविखन र सेवन गर्न नहुने बोर्डहरू राखिएको पाइन्छ। विद्यालय जहाँबाट बालबालिकहरूले आफ्नो जीवन उपयोगी शिक्षा पाउँछन्, तर त्यस्ता विद्यालयले भाडामा लगाएका सटरहरूमा सुर्तीजन्य पदार्थको खुलेआम बिक्री भइरहेको पाइएको छ तर अनुगमन प्रभावकारी देखिँदैन। मदिरा बिक्री-वितरणको मापदण्ड भए पनि कार्यान्वयन छैन। चिया र किराना पसलहरूमा समेत मदिरा उपलब्ध नै छ।
हरेक वर्ष २६ जुन अर्थात् अवैध लागूऔषध ओसारपसार तथा दुरुपयोगविरुद्धको दिवस मनाइन्छ। ३६४ दिन खासै ध्यान दिइँदैन। आफ्ना सन्तानको सकारात्मक निगरानी गर्ने, तनाव भएका समयमा उसको कुरा सुनिदिने र समस्या समाधानमा सहयोग गरिदिनेजस्ता नियमित कार्य गर्न खासै कसैको रुचि देखिँदैन। खुशी, आनन्द तथा मनोरञ्जनका लागि लागूऔषध लिएकाहरू क्रमशः परनिर्भरताका कारण ३६५ दिन नै क्रियाशील हुन्छन् भने अभियान मुस्किलले केही दिन मात्रै। यस्तो अवस्थामा यसबाट उन्मुक्ति पाउन सजिलो पटक्कै छैन।
केहीले यसलाई अपराधको रूपमा लिएका छन् र विज्ञहरूले भने रोगको रूपमा। अपराधको रूपमा लिनेहरू लागूऔषधमुक्त समाजको परिकल्पना गर्छन् भने मनोचिकित्सकहरू रोकथामको। अपराधको रूपमा लिनेहरू शरीर र समाजलाई क्षति पुर्याउनु अपराध भएको ठान्छन्। रोगको रूपमा लिनेहरू जसरी अन्य रोगीहरूलाई हेरिन्छ, त्यसैगरी लागूऔषधका प्रयोगकर्ताहरूलाई हेर्नुपर्ने र उपचार गर्नुपर्ने विचार व्यक्त गर्छन्। स्वयं सेवनकर्ताहरू समेत हरेक दिन बेलुका अब भोलिदेखि नखाने प्रण गर्छन्, भएभरका प्रतिज्ञा गर्न पनि पछि पर्दैनन्। तर, शारीरिक आवश्यकताका कारण फेरि सेवन गर्न पुग्छन्।
अपराधको रूपमा परिभाषा गरेपनि या रोगको रूपमा आखिर लागूऔषधको उपयोग कुनै पनि मानेमा हितकर हुँदैन। विश्व स्वास्थ्य संगठनले कुनै पनि स्वस्थ शरीरका लागि लागूऔषधको आवश्यकता नपर्ने भनेको छ। जो लागूऔषधको दुर्व्यसनमा फसेका छन्, उनीहरूका लागि उपचारका विभिन्न विधिहरू छन्। जुन विधि उसका लािग उपयोगी हुन्छ, त्यो आपसमा बसी तय गर्दा होला। तर जो भर्खरै विद्यालयमा छन्, नगर्नु भनेको कुरा खोजी-खोजी गर्न रुचाउँछन्, के होला भन्ने कौतुहल पनि छँदैछ। यस्तो अवस्थामा विद्यालय र अभिभावकले विशेष ध्यान दिने हो भने समस्या समाधानमा सफलता मिल्न सक्छ।
माथि नै भनिसकिएको छ- सुर्ती र मदिराजन्य पदार्थ नै लागूऔषधमा प्रवेश गर्ने ढोका हो। त्यस ढोकालाई बन्द गर्नेतर्फ अभिभावकहरूको ध्यान जानु आवश्यक छ। विभिन्न अवस्था र परिवेशमा परी कुनै बालबालिकाले एकपल्ट लागूऔषध सेवन गर्नुलाई अपराधको रूपमा लिनु आवश्यक छैन। बरु थाहा पाएर लुकाउने, यातना दिने, अरू साथीहरूबाट एक्ल्याउनेजस्ता कार्यहरूले रोकथाममा सहयोग गर्दैन्। बरु झन् भयावह हुनेछ।
अबको जिम्मेवारी जो फसेका छैनन् तर जोखिममा छन्, उनीहरूलाई दुर्व्यसनमा फस्न नदिनु नै हो। यसका लागि प्रवेशद्वारका रूपमा लिइएका सुर्ती र मदिराजन्य वस्तुहरूको बिक्रीमा प्रभावकारी नियमन आवश्यक छ।
केही स्थानीय तहले सुर्ती तथा मदिराजन्य वस्तुको बिक्री-वितरणमा रोक लगाएका छन्। रोक लगाउँदैमा सेवनकर्ताले खान नछोड्ला तर सार्वजनिक रूपमा खुला बिक्री-वितरण नहुने कार्यले सकेसम्म नखाने र खानै परेमा पनि लुकीछिपी खाने हुँदा बालबालिकामा पर्ने नकारात्मक प्रभाव कम नै हुने मान्न सकिन्छ।
अहिले स्थानीय सरकारहरू छन्। केही स्थानीय सरकारहरूले लागूऔषधविरुद्ध व्यापक सचेतना गरेका भए पनि प्राथमिक रूपमा उनीहरूले सुर्तीजन्य पदार्थलाई निरुत्साहित गर्ने कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्न जरुरी छ। कम्तिमा पनि १८ वर्षमुनिका बालबालिकालाई सुर्ती तथा मदिराजन्य वस्तुको बिक्री-वितरण नगर्ने र गर्ने गरेको पाइएमा बिक्रेतालाई कारवाहीको ब्यवस्था गर्ने हो भने पनि धेरै हदसम्म बालबालिकालाई दुर्व्यसनमा पर्नबाट रोक्न सकिएला।