एमालेको ताप्लेजुङ इन्चार्ज तथा पूर्वकेन्द्रीय सदस्य भाष्कर काफ्लेले पार्टी परित्याग गरेका छन्। उनी एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य चयन भएका छन्। झापाको एमाले अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्रबाट संघीय संसदको चुनाव लड्ने घोषणा काफ्लेले गरेका छन्।
काफ्लेलाई पोलिटब्युरो सदस्य मनोनयन गरिएकोबारे एकीकृत समाजवादीले अन्तर पार्टी निर्देशन जारी गरेको छ। एकीकृत समाजवादीको गत शुक्रबारको सचिवालय बैठकले काफ्लेलाई पोलिटब्युरो सदस्य मनोनयन गर्ने निर्णय गरेको छ।
काफ्लेले चितवन भरतपुरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा ओली समूहविरुद्ध केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। र, सर्वाधिक मत ल्याएका थिए।
उनी नेकपा (माले)को अनेरास्ववियुको पूर्वकेन्द्रीय अध्यक्ष थिए। माले त्यागेर उनी एमाले फर्किएका थिए। पछिल्लो समय चितवन महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि एमाले सल्लाहकार परिषद सदस्य थिए।
दुई–दुईपटक संसद विघटन गरेर र अदालतबाट संसद पुनःस्थापना भएपछि एमाले अध्यक्ष ओलीको कार्यशैलीमा सुधार आउने अपेक्षा गरे पनि पार्टीभित्र झनै निरंकुश ढंगले प्रस्तुत हुन थालेपछि बाध्य भएर पार्टी परित्याग गरेको काफ्लेले नेपाली हेडलाइनसँग बताए।
‘राजनीतिलाई जीवन्त राख्नु ठूलो कुरा भएको निष्कर्षपछि एमाले परित्याग गर्ने निर्णय गरेँ,’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले हिजो पनि लोकतन्त्र र संविधानलाई नै मास्ने प्रयत्न गर्नुभयो, यो व्यवस्था नै समाप्त पार्ने कोशिस गर्नुभयो। पटक–पटक त्यसविरुद्ध आन्दोलनमा उत्रिएको थिएँ,’ काफ्लेले भने, ‘उहाँ सुध्रिनु हुन्छ कि भनेर चितवन महाधिवेशनमा एमालेमै प्रतिबद्ध रहेँ। तर, उहाँ सुध्रिनु भएन।’
पछिल्लो समयमा जनवर्गीय संगठन निर्माणमा आफैँले खल्तीबाट नाम पढ्दै, घोषणा गर्दै हिँड्ने प्रवृत्ति ओलीले कायम राखेकाले पार्टी परित्यागको निर्णय गरेको काफ्लेले बताए।
‘एमाले अब कम्युनिस्ट पार्टी हुन सक्दैन भन्ने निष्कर्षमा पुगेँ। जनताको बहुदलीय जनवादको वकालत गर्ने अनि मदन भण्डारीको सिद्धान्त कुल्चिँदै हिँड्ने प्रवृत्ति निरन्तर रह्यो,’ उनले भने, ‘मदन भण्डारीको उत्तराधिकारी आफैँ हुँ भन्दै भजाएर खाइरहने प्रवृत्तिमा सुधार भएन। भन्नलाई समाज परिवर्तनका लागि लागेको बताउने तर आफ्नो गुटका कार्यकर्तालाई अराजकतातर्फ प्रवृत्ति मौलायो। आफूलाई मन नपरेका नेताहरूलाई जन्मदिनको शुभकामनासम्म दिन कन्जुस्याइँ गर्ने नेताले नेतृत्व गरेको पार्टीले कस्तो समाज निर्माण गर्छ ?’
‘नेपालको कम्युनिस्ट आन्दोलन बचाउन, नेपाली समाजलाई एकबद्ध बनाउनका निम्ति पनि एमाले परित्याग गर्नुपर्ने निर्णय लिएँ,’ काफ्लेले भने, ‘केपी ओलीले नेपालको कम्युनिस्ट आन्दोलन पनि समाप्त पार्छन् र एमालेलाई पनि समाप्त पार्छन्। त्यतिले नपुगेर उनी यो व्यवस्था नै समाप्त पार्न लागिपरेका छन्।’