काठमाडौँ। नेकपा एमाले प्युठानले होली खेल्न बोलाएर पार्टी प्रवेश गरेको प्रचार गरेको दाबी गर्दै केही युवाले विरोध जनाएका छन्।
प्युठान नगरपालिका–७ का १३ जना युवाले त्यसप्रति असहमति जनाउँदै विज्ञप्ति प्रकाशित गरेका छन्।
विज्ञप्तिमा ताराबहादुर नेपाली, वीरबहादुर नेपाली, लोकबहादुर नेपाली, गणेश नेपाली, तिलक घर्ती, प्रकाश नेपाली, विमल परियार, विवेक योगी, प्रदीप नेपाली, मोहन केसी, नारायण योगी, गोविन्द घर्तीलगायतको हस्ताक्षर छ।
एमाले प्युठानले आफ्नो फेसबुक पेजमार्फत ३ चैत्रमा कांग्रेस प्युठानको गढ मानिने प्युठान–७ बाट शमशेर नेपालीको नेतृत्वमा ६७ जना युवा एमाले प्रवेश गरेका थिए। त्यसमा आफूहरूको नाम उल्लेख भएकामा ती युवाले आपत्ति जनाएका हुन्।
उनीहरूलाई झुक्काएर एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इञ्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश सांसद तथा प्युठान सह–इञ्चार्ज हरिप्रसाद रिजाललगायत नेताहरूले पार्टीमा स्वागत गरेको बताएका थिए।
प्रवेश गरिएको भनिएका १३ जना युवाले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘हामीलाई होली खेल्न भन्दै बोलाइयो, होलीमा रंग दलिन्छ, तर हामी पार्टी प्रवेश गरेका होइनौँ, विगतमा हामी कुनै पार्टीमा नभएता पनि अब एमालेले नै हामीलाई कांग्रेस हेडक्वाटरबासी भनिसकेपछि हामी नेपाली कांग्रेसमा प्रवेश गर्दछौँ।’
पार्टी प्रवेशको नेतृत्व गरेका शमशेर नेपालीको भनाइमा ताराबहादुर, वीरबहादुर र गणेशबाहेकका युवा उक्त दिन पार्टी प्रवेश कार्यक्रममा उपस्थित नै थिएनन्। ‘शमशेर, तारा र गणेशलाई पनि कांग्रेसले लोभलालच देखाएर पुनः पार्टीमै फर्काएको हो। अरू युवा त्यो दिन कार्यक्रममा उपस्थित नै थिएनन्,’ शमशेरले दाबी गरे।
यसअघि दाङमा एमालेले कुलोको समिति भन्दै नक्कली समिति बनाएर पार्टी प्रवेश गरेको भ्रम छरेको थियो।