विदेशमा रहेका नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजनको डिलमा पुगेको छ। दुई समूहले अलग-अलग महाधिवेशनको तयारी थालेपछि उक्त संस्था फुटको संघारमा उभिएको हो।
विभिन्न देशमा रहेका नेपाली भाषीहरूको साझा संस्था हो, एनआरएनए। स्थापना भएको दुई दशकमै यो संस्थामा विभाजन देखिएको छ। नेपालको प्रगतिमा हैँसे गर्ने साथै आमप्रवासी नेपालीहरूको हकहित, अधिकार र नयाँ पुस्तालाई नेपालसँग जोडिराख्ने भावनाका साथ यो संस्था स्थापना भएको थियो।
संस्थाको १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयनलगायत विषयमा उत्पन्न विवाद आन्तरिक रूपमै समाधान हुन नसक्दा परराष्ट्र मन्त्रालय र अदालतसम्म यो मुद्दा पुगेको छ। एनआरएनएका वर्तमान अध्यक्ष कुमार पन्त र उपाध्यक्ष सोनाम लामा पक्षधर समूहहरूले अलग-अलग महाधिवेशनको मिति तय गरेका छन्। दुवै समूहले निर्वाचनको प्रक्रियासमेत अगाडि बढाएका छन्। संस्था अब एक ढिक्का रहने सम्भावना कम देखिएको छ। यद्यपि, संघका केही पदाधिकारी र संरक्षकले सहमतिको प्रयास जारी राखेका छन्।
संघको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष पन्त समूहले निर्वाचनका अधिकांश प्रक्रिया सम्पन्न गरिरहेको जनाएको छ। यो समूहले १०–११ चैतमा मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको संघका प्रवक्ता डीबी क्षत्रीको भनाइ छ।
यस्तै, महाधिवेशन आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष लामाको समूहले ८-११ चैतमा महाधिवेशनको मिति तय गरेको छ। महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको लामाले बताए। उनका अनुसार महाधिवेशन भव्य रूपमा सम्पन्न गर्न विभिन्न समिति पनि गठन गरिएको तथा महाधिवेशनका लागि प्रतिनिधि नेपाल आउने क्रम जारी छ।
संघको विधानअनुसार २३-२५ अक्टोबर २०२१ मा महाधिवेशनको तयारी गरिएको थिषे। तर, प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण स्थगित भएको थियो। त्यसपछि १५ डिसेम्बरमा पुनः अर्को निर्वाचनको मिति तय गरियो। संघको कार्यसमितिले विवाद सुल्झाउनुको साटो २ मार्च २०२२ मा आकस्मिक बैठक बसी उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्ने निर्णय गरेपछि विवाद झनै चुलिएको हो।
राससबाट