जहाज भेट्न हतारमा घरबाट निस्किनु पर्यो भने मानिसले धेरै महत्त्वपूर्ण वस्तु घरमै छुटाउन सक्छ। या त घरको ढोका नै बन्द गर्न बिर्सिन्छ। चीनमा भने एक यात्रीले घरको ग्यास स्टोभ खुलै रहेको बताएर केहीबेर आतंक सिर्जना गरेकी छन्।
नान्जिङबाठ कुन्मिङ जाँदै थिइन्, उनी। जहाज उडेको १५ मिनटपछि ती यात्रीले विमान परिचालिकालाई आफूले भान्साको ग्यास स्टोभ खुलै राखेर हिँडेको बताइन्।
समस्या समाधानका लागि आकाशबाटै विमान परिचालिकाले स्याटेलाइट फोनमार्फत ती यात्रीको प्रोपर्टी म्यानेजमेन्टमा फोन लगाइन्। प्रोपर्टी म्यानेजमेन्टका कर्मचारी दौडेर उनको घरमा पुगे।
कर्मचारी उनको घरमा पुग्दा ढोका खुलै थियो, किचेनका ग्यास स्टोभ निभाइएको थियो। खासमा, ती यात्रीले ग्यास स्टोभ होइन, घरकै ढोका खुला राखेर हिँडेकी थिइन्।
प्रोपर्टी म्यानेजमेन्टले स्याटेलाइट फोनमा सम्पर्क गरेर त्यसबारे जानकारी दिँदा विमानमा रहेका सबै यात्रीको हाँसोको फोहोरा छुट्यो। कर्मचारीले उनको घरमा ताला लगाइदिए र आरामसँग यात्रा गर्न उनलाई आग्रह गरे।
‘म जम्मा १० मिनटमा घरबाट निस्किनु परेको थियो,’ त्यसपछि ती यात्रीले स्पष्टीकरण दिइन्, ‘मैले ग्यास स्टोभ बन्द गरिनँ कि ढोका लगाइनँ भन्ने नै बिर्सिएँ।’