काठमाडौं- सात दशकअघि मुलुकका मूर्धन्य साहित्यकारहरू भेला भएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको छ।
चर्चित ब्यान्ड नेपथ्य ३ चैत शनिबार बेलुकी ठूला शहर बजारमा नभई इलामको सूर्योदय नगरपालिकाअन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदैछ। लाप्चा भाषामा ढुकुरलाई करफोक भनिन्छ।
जतिबेला नेपालमा काठमाडौं उपत्यकाबाहिर विरलै बृहत् साहित्यिक कार्यक्रम हुन्थ्यो, त्यतिबेला अर्थात् २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछानेलगायत साहित्यकारहरू भेला भएर करफोकमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ आयोजना गरेको इतिहास छ।
नेपथ्यले आफुलाई प्रस्तुत गर्नलागेको पाखो त्यस भेगकै अर्को ऐतिहासिक महत्त्व राख्ने करफोक विद्यामन्दिरको परिसर हो।
कुनै समय आयामेली लेखक इन्द्रबहादुर राई अनि मुलुककै मूर्धन्य कला समीक्षक (पछि गोरखापत्रका सम्पादक) नारायणबहादुर सिंहजस्ता हस्तीहरू प्रधानाध्यापक रहेको अनि अर्का समालोचक तारानाथ शर्मा शिक्षक रहेको यो विद्यालयको शिलान्याश ०१० सालमा तत्कालीन युवराज महेन्द्रले गरेका थिए।
यो मैदानमा बर्सेनि राष्ट्रियस्तरकै फुटबल प्रतियोगितासमेत आयोजना हुँदै आएको छ।
‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एकपटक आफूलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिको हो,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यसपटक इलामका साथीहरूले जोग मिलाइदिनुभएकोमा असाध्यै खुशी लागेको छ।’
मेची राजमार्गसँगै जोडिएको यो विद्यालय फिक्कल भएर इलामबजारतर्फ जाँदा बाटैमा अर्थात् सूर्योदय नगरपालिकाअन्तर्गत पर्छ। कुनै समय दुई वर्षसम्म जिल्लाको सदरमुकाम (खलंगा) रहेको यो स्थान बिक्रम सम्वत १८७५ सालमा नामसालिङ हुँदै हालको सदरमुकाम अर्थात इलाम बजारमा सरेको हो।
नेपथ्यले मुलुकका स–साना गाउँबस्ती हुँदै विश्वका ठूला शहरहरूसम्म आफूलाई प्रस्तुत गर्दै आएको छ। नेपालमा हालसम्म करिब १२० वटा कन्सर्ट आयोजना गरिसकेको ब्यान्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकका ४१ वटा मुख्य शहरहरूमा ८० भन्दा बढी सांगीतिक प्रस्तुती दिइसकेको छ। करफोकको प्रस्तुती पनि केही महिनाअघि मात्र जापान र क्यानाडाका श्रृंखलाबद्ध भ्रमण सम्पन्न भएपछि र अब केही समयमै युरोपको अर्को श्रृंखलावद्ध कन्सर्ट आयोजना हुनुको मध्यमा आयोजना गर्न लागिएको हो।
‘केही वर्षअघि मात्र करफोक छेवैको सानो शहर फिक्कलमा कन्सर्ट गर्दाको रमाइलो सम्झना मेरो निम्ति अझै ताजा छ,’ अमृत भन्छन्, ‘त्यहाँ पुरानो सिनेमा हलमा कन्सर्ट चलिरहँदा एउटा बच्चा बोकेर नृत्य गरिरहेकी आमालाई देखेपछि मैले पनि उनकै शैलीमा नाचेको घटना अहिले सम्झँदा पनि मिठो लाग्छ।’
शनिबारको कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुन लागेको हो। इलाम नगरपालिका–६ को गढीथुम्कामा यो गुम्बा निर्माणाधीन छ। सभाकक्ष, पूजा हल, भण्डार र पाहुना कोठासहित तीनतले गुम्बा ०८३ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आउने लक्ष्य छ।
‘यो आयोजनाले एकातिर हाम्रो धार्मिक धरोहरको निम्ति केही कोषको व्यवस्था गर्नेछ,’ गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङ भन्छन्, ‘अर्कोतर्फ संगीतका माध्यमबाट समेत इलाममा पर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं।’ कन्सर्टको आयोजना भने ‘इलाम गुरुङ समाज’ले गर्न लागेको हो।
करफोक कन्सर्टमा टिकटको मूल्य ११ सय रुपैयाँ राखिएको छ।
कन्सर्टका हकमा विदेशका ठूला शहरहरूमा आयोजना हुने गुणस्तरलाई नेपालका साना गाउँबस्तीसम्म पनि एकरूपता दिन आफूहरू सदैव क्रियाशील रहेको र करफोकमा पनि दर्शकले यसलाई महशुस गर्नसक्ने नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका अर्पण शर्मा बताउँछन्।
‘पूर्वाञ्चलका विभिन्न शहरमा टिकटको खुला बिक्री वितरण शुरु भइसकेको छ,’ शर्मा भन्छन्, ‘त्यसबाहेक नेपथ्यकै वेबसाइट nepathya.com.np मार्फत् अनलाइनबाटै पनि टिकट किन्न सकिने प्रवन्ध मिलाइएको छ।’
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन्।