भारतीय जरसाहबले हाम्रा नेतालाई
घोडासँग तुलना गरेपछि
बडका भलमन्साले आफ्ना गाउँका
दुइटा घोडा सम्झिए
एउटा जोखनको घोडा
जसमा सबै चढ्ने गर्थे
बदमाश थियो अर्काको बाली खाइदिने
टोक्ने, सवारलाई लोटाउने
मनलाग्दी गर्दै हिँड्ने
अर्को जिमदारको घोडा
धेरैजसो तबेलामा बस्ने
जिमदारले मात्रै चढ्ने
धेरैजसो सुतेर
नबोलेर दिन बिताउने
तर महँगा मीठो दाना खाने
गाउँलेले पनि घाँस काटेर ल्याइदिनुपर्ने
जोखनको घोडा फुर्तिलो थियो
स्वस्थ थियो तर भर नपर्दो
उसलाई लाग्थ्यो म जतिको
राम्रो घोडा यो ब्रह्माण्डमा छैन
म जत्तिको दौड्ने घोडा
यो संसारमा छैन
काम नगरी सुतेर खाने
जिमदारको घोडा अल्छी थियो
थोरै हिँडेर रोगी पनि थियो
तर तबेला छोड्ने बानी थिएन
तबेला छेउमा आउनेलाई
तथानाम गाली गर्ने बानी थियो
बडका भलमन्सा भन्दै थिए
उनका घोडा कस्ता छन् थाहा छैन
तर मेरा गाउँका घोडा कस्ता छन्
सबै गाउँलेलाई थाहा छ
यी घोडाको कथा हाम्रा कुनै राजनीतिक चरित्रसँग मिल्न गएमा संयोग मात्र हुनेछ