काठमाडौं- गायक राजेशपायल राईको स्वरमा युवराज भण्डारीको नयाँ देशभक्ति गीत संविधान दिवसको अवसर पारेर हालै सार्वजनिक गरिएको छ। संगीतकार राजेश थापाले संगीत रहेको ‘भावनाको देश’ बोलको गीतको संगीत संयोजक फणीन्द्र राई हुन्।
काठमाडौंको ए-वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन्। गीतकार भण्डारीको युट्युब च्यानल ‘वाई बी क्रिएसन’ले ३ असोजमा सार्वजनिक गरेको यस गीतको म्युजिक भिडिओमा पूजा ठकुरीको निर्देशन छ। विनोद बमको सम्पादन र रामकुमार केसीको छायांकनमा भिडियो सांग्रिला क्रिएसनले तयार पारेको हो।
प्रवासमा रहेर पनि नेपाली संगीत र साहित्यमा अनवरत रूपले सक्रिय तनहुँका भण्डारी हाल क्यानाडामा छन्। भण्डारीको एक गीति कविता संग्रह प्रकाशित छ भने ‘भावनाको तस्वीर’ (गजल संग्रह) र ‘अर्को कर्नाली’ (कविता संग्रह) प्रकाशोन्मुख छन्। पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन्।