काठमाडौं- आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना छ। वर्षा हुने क्षेत्रमा नदीनालाको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, नेपालमा भारतको मध्य प्रदेशको आकाशमा विकसित न्यून चापीय रेखाको आंशिक प्रभाव छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका थोरै र बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, मधेश, वागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।