काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाकाे नेतृत्वमा ४९ सदस्यको हस्ताक्षरसहित उक्त प्रस्ताव दर्ता गरिएको हो।
एन्फाका बहुमत सदस्यहरुले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै प्रस्ताव दर्ता गराएका हुन्।
असन्तुष्ट पक्षले १९ आरोपसहित अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। अध्यक्ष पंकज नेम्वाङ इतिहासमै पहिलो पटक अविश्वासको प्रस्ताव भाेग्ने एन्फा अध्यक्ष बनेका छन्।
एन्फाले जबर्जस्ती भर्चुअल साधारणसभा आह्वान गरेपछि क्लबहरूले विधानविपरीत हुने भन्दै भौतिक उपस्थितिको माग गरेका थिए। क्लबहरूको चेतावनीलाई वेवास्ता गर्दै एन्फाले साधारणसभा एकतर्फी रूपमा बोलाएपछि उनीहरू झन् आक्रामक बनेका थिए।
आइतबार लागि बोलाएको एन्फाकाे विशेष साधारणसभा ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिति भएपछि कोरम नपुगेर स्थगित भएकाे थियाे।
लगत्तै आकस्मिक बैठक बसेर सोमबारका लागि बाेलाइएकाे विशेष साधारणसभामा आइतबारभन्दा कम संख्या भएपछि बैठक स्थगित भएकाे छ।