जनकपुरधाम– एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आज दिउँसो २ बजेपछि जनकपुरधाम उपमहानगर भित्रका सबै विद्यालयमा बिदा दिइएको छ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि उपमहानगरभित्र पर्ने सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएकाे हाे।
‘जनकपुरधाम उप-महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारत संग हुने खेलमा नेपाल गौरवान्वित महसुश गरेकोले टिमको हौसला बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि १३ भदौमा भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि उपमहानगरले आकस्मिक सूचना जारी गर्दै दिउँसो दुई बजेपछि विद्यालयहरुमा बिदा दिएको थियो।
नेपाल र भारतबीच खेल श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समय अनुसार आज दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ।