वीरगंज– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन्।
आइतबार प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्नुपर्ने बताएका हुन्।
धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैसँग आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले सविंधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिए।
भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याइ दोषीलाई कानुनी कठघरामा उभियाउने दृढतासमेत व्यक्त गरे।