काठमाडौं -दैलेख नारायण नगरपालिका-११ लोहोरस्थित सडकमा लु.२ च ४८२९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १ सय २० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपका चालक भगवतीमाई गाउँपालिका-६ बस्ने ३० वर्षीय कृष्ण रोकाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थाई प्रहरी पोष्ट लोहोरेबाट खटिएको प्रहरीले दुर्घटनामा घाइते भएका अन्य १० जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल दैलेख पठाएकोमा भगवतीमाई गाउँपालिका-१ बस्ने ३६ वर्षीया कल्पना रोकाय समेत ६ जनालाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको छ ।
कैलाली भजनी नगरपालिका-२ मोहनपुरस्थित सडकमा सोही ठाउँ बस्ने ४० वर्षीय शिब प्रसाद चौधरीले चलाईरहेको गोरुगाडा मंगलबार बेलुकी नालीमा पल्टिएर दुर्घटना हुँदा गोरुगाडामा सवार उनकै श्रीमती ३५ वर्षीया चन्द्रा देवी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।