काठमाडाैं– नयाँ टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी शो) ‘महा गफाडी’ घोषणा गरिएको छ । मनोरञ्जनका विविध विधामध्येको एक विधा-वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले बताए।
“कतिले सजिलै गफाडी उपमा पनि दिँदै आएका छन्। तिनै गफाडी, वाककलाका धनीहरूको खोजी गर्ने एक नवीन प्लेटफर्म हो महा गफाडी।” उनले भने।
यो कार्यक्रममा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले आफ्नो सहभागिता जनाउन सक्नेछन्। आफ्नो मातृभाषामा पनि अडिसन दिन पाइने तथा अवस्था हेरेर कुनै कुनै प्रस्तुति पनि दिन पाइने भएता पनि प्राथमिकतामा भने नेपाली भाषालाई नै राखिएको उनले बताए।
कार्यक्रमको निर्णायकका रूपमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा लामो समयदेखि आफ्नो उपस्थितिले सबैलाई मनोरञ्जन दिइरहेका कलाकार शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन्। यस्तै, कार्यक्रमलाई अभिनेता कामेश्वर चौरसियाले सञ्चालन गर्नेछन्।
आफू गफाडी नभएकै कारण कार्यक्रममा जोडिएको निर्णायक बनेका अभिनेता तामाङले बताए। “प्रस्ताव आउँदा म केही अचम्मित भएँ। यद्यपि कार्यक्रमको ढाँचाले मलाई आकर्षित गर्यो। मेरो लागि यो नयाँ अनुभव हुनेछ।” उनले भने।
आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारका रूपमा प्रस्तुत गर्ने कार्यक्रममा विजेतामध्ये प्रथम हुनेले नगद १५ लाख र सवारीसाधन, द्वितीय हुनेले नगद १० लाख र सवारीसाधन तथा तृतीय हुनेले नगद पाँच लाख र सवारीसाधन प्राप्त गर्नेछन्।
सोह्र हप्तासम्म चल्ने कार्यक्रम अवधिभर प्रतियोगीहरूले कुनै भाषा, लैङ्गिक, समुदाय, जातजाति, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने गरी कुनै प्रस्तुति दिन पाउने छैनन्।