काठमाडौं- गत १७ वैशाखमा वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठ (२९ वर्ष) झुण्डिएको अवस्थामा फेला परिन्। भरतपुर महानगरपालिका-१ की उनले कोशी अस्पताल विराटनगरका डा. सुजन ढकालको काठमाडौं बालाजुस्थित कोठामा आत्महत्या गरेकी थिइन्।
अनुमा मृत भेटिएको स्थानबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको छ। प्रहरीका अनुसार नोटमा विवाह नभएको विषय उल्लेख छ। पारिवारिक स्रोतका अनुसार डा. ढकाल र श्रेष्ठ लामो समयदेखि प्रेममा थिए। यसबारे परिवारलाई पनि जानकारी थियो र आउजाउ भइरहन्थ्यो। अनुमाले डा. सुजनलाई विवाह गर्न पटक-पटक आग्रह गर्दा पनि नमानेपछि उनकै कोठामा झुण्डिएर आत्महत्या गरेको निष्कर्ष अनुसन्धानमा निकालिएको छ।
०००
१८ मंसिर ०७९ मा काठमाडौं बुद्धनगर घर भएकी पुष्पा न्यौपाने (२७ वर्ष) ले धुम्बाराहीस्थित सुधन संग्रौलाको घरबाहिर आफैंलाई पेट्रोल खन्याएर आगो लगाइन्। त्यसको भोलिपल्ट उपचारका क्रममा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भयो।
पुष्पा र सुधनबीच पनि प्रेम सम्बन्ध थियो। १८ भदौ ०७९ मा इंगेजमेन्ट पनि भएको थियो। तर, १५ मंसिरमा सुधनको परिवार पुष्पाको घरमै पुगेर इंगेजमेन्ट तोडेका थिए। त्यसको तीन दिनपछि पुष्पाले आत्मदाह गरेकी थिइन्।
०००
१० माघ ०७९ मा संघीय संसद भवन अगाडि इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्य (३७ वर्ष)ले पनि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए। कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घटनाको भोलिपल्ट उनको मृत्यु भयो। व्यवसायका क्रममा लागेको ऋण तिर्न नसकेपछि उनले आत्मदाह गरेको घटनाअघि उनले फेसबुकमा लेखेको लामो स्टाटसबाट खुलेको थियो।
०००
सात वर्षअघि सर्लाहीमा भएको एक आत्महत्या प्रकरणले देशलाई नै झस्काएको थियो। कारण थियो- गरिबी। पिपरिया-३ की ३० वर्षीया गुन्द्रदेवी पण्डितले गरिबीका कारण १८ पुस ०७३ मा तीन छोरीलाई विष खुवाएर आत्महत्या गरेकी थिइन्। तीनमध्ये दुई छोरीको मृत्यु भएको थियो।
प्रहरीको अनुसन्धानमा उनको आर्थिक अवस्था कमजोर देखिएको थियो। उनका पाँच छोरी र एक छोरा थिए। छोरीलाई दाइजो दिनसक्ने क्षमता नभएकै कारण उनले यति भयावह घटना गराएको अनुसन्धानमा खुलेको थियो। अनुसन्धान क्रममा घरमा एक बोरा धान र एउटा भैंसी मात्र थियो। सन्तानको पालनपोषन तथा छोरीको विवाह सम्भव नदेखेरै आत्महत्याको बाटो रोज्न बाध्य भएको अनुसन्धानको निष्कर्ष थियो।
फागुन ०७८ मा काठमाडौं रामकोटमा एकै परिवारका चारजनाले आर्थिक संकटकै कारण विष सेवन गरी सामूहिक आत्महत्या प्रयास गरेका थिए। तीमध्ये एकजनाको मृत्यु भएको थियो। २२ असोज ०७८ मा धनुषा नगराइन नगरपालिका-७ की २४ वर्षीया गुडिया साहले पनि २ छोराको हत्यापछि आत्महत्या गरेकी थिइन्। कारण थियो- गरिबी।
०००
२३ फागुन ०७७ मा दैलेख आठबीस नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकी थिइन्। उक्त घटनामा भने उनका श्रीमान् मानसिंह बडुवालविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलाइएको थियो।
घटनाको भोलिपल्ट सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव फेला परेको थियो। त्यसको भोलिपल्ट सुकी र उनका छोरा १० वर्षीय ललित बडुवालको शव पनि कर्णाली नदीमै फेला परेको थियो। कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको थियो। सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको थियो। ५ वर्षीया छोरी रजनीको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको थियो।
०००
काठमाडौंको न्युरोडस्थित रञ्जना ट्रेड सेन्टरको श्वेत वराह इन्टरप्राइजेजका सञ्चालक सुदर्शन घिमिरेले बैंकको ऋण तिर्न नसकेपछि २१ भदौ ०७९ मा आत्महत्या गरेका थिए। काभ्रेको नाला स्थायी बसोबास भएका रेडिमेड कपडाको व्यापार गर्थे। विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उनले व्यापार गरिरहेका थिए। तर, सटरको मासिक भाडा नै तिर्न नसक्ने अवस्था भएपछि उनले इहलीला समाप्त गराएका थिए।
०००
यस्तै, सुर्खेत वीरेन्द्रनगर-१३ पीपलडाँडाका हरिभक्त आचार्यले ११ माघ ०७८ मा साहुबाट लिएको ऋण तिर्न नसक्दा आत्महत्या गरेका थिए। ४ कात्तिक ०७७ मा सल्यानको कालीमाटी गाउँपालिका-७ का २७ वर्षीय पूर्णबहादुर पुन र उनकी पत्नी २६ वर्षीया रोशनीले पनि आत्महत्या गरेका थिए। उनीहरूको आत्महत्याको कारण पनि गरिबी नै रहेको खुलेको थियो।
०००
देशभर बढेको आत्महत्या शृंखलाका यी केही चर्चित घटना हुन्। केही वर्षयता देशभर आत्महत्याका घटना डरलाग्दो रूपमा बढिरहेका छन्। त्यसका एउटा मात्र कारण छैन। र, तनावबाट गुज्रिरहेका मानिसले आत्महत्या गर्ने क्रम उकालो लागेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांकअनुसार विश्वमा हरेक सेकेन्ड ३ जनाले आत्महत्या गर्छन्। नेपालमा त्यो दर दैनिक सरदर १६ जना देखिने गरेको प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्दबहादुर पन्थी बताउँछन्।
शैक्षिक स्तर बढ्दो क्रममा रहँदा पनि आत्महत्याजस्तो अपराध समाजमा बढ्दो क्रममै देखिनुलाई डीएसपी पन्थी चिन्ताको विषय मान्छन्। भन्छन्, ‘नेपालको तथ्यांक केलाउँदा बढी व्यक्तिले विष खाएर र झुण्डिएर आत्महत्या गरेको देखिन्छ।’
उनको ठम्याइमा आत्महत्या मानसिक रोगको उपज हो। नेपालमा सबैभन्दा बढी आत्महत्या १५ देखि ३० वर्ष उमेर समुहका युवा-युवतीले गर्ने गरेको पछिल्लो तथ्यांकले देखाउँछ। त्यसको मुख्य कारण युवावयमा बढ्दो मानसिक तनाव र डिप्रेसन रहेको डीएसपी पन्थी बताउँछन्। धेरैजसो युवायुवती शारीरिक र यौन हिंसाबाट पीडित हुने भएकाले आफ्नो समस्याबारे परिवारसँग खुलेर कुरा गर्न नसक्दा मानसिक तनावमा रहने गर्छन्। तनाव बढ्दै गई डिप्रेसन हुने र त्यसपछि आत्महत्याको बाटो रोज्ने उनको बुझाइ छ।
‘मानिसले त्यसै आत्महत्या गर्दैन । त्यसको पछाडि कुनै न कुनै कारण हुन्छ,’ उनी भन्छन्, ‘आत्महत्या गर्नुको पछाडि आर्थिक, सामाजिक र पारिवारिक कारण हुने गर्छन्।’
यसको आर्थिक पाटो हो, रोजगारीबाट असन्तुष्ट हुनु र बढी महत्त्वाकांक्षी बन्नु। त्यस्ता व्यक्तिहरू, जसले आफ्नो क्षमताभन्दा ठूलो सोच पाल्छन् अनि अपेक्षा पूरा नहुँदा आत्महत्या रोज्छन्। डीएसपी पन्थी भन्छन्, ‘बेरोजगारीले आर्थिक संकट निम्त्याउँछ, जसले जीवनयापनमा प्रत्यक्ष प्रभाव पार्छ। र, मानिस डिप्रेसनमा गई आत्महत्या गर्छ।’
आत्महत्याको दोस्रो कारण हो, सामाजिक। उदाहरणका लागि कुनै महिला यौन हिंसामा परेमा उसले परिवारमा कसैसँग आफ्नो समस्याबारे खुलेर कुरा गर्न सक्दिनन्। भनिहाले पनि परिवार र समाजले महिलालाई नै दोषी ठहर्याउँछ। त्यसपछि समाजबाट बहिष्कृत हुने भयका कारण त्यस्ता समस्यालाई महिलाहरूले मनभित्रै दबाएर राख्छन्। कसैले थाहा पाए के गर्ने, कहाँ जाने भन्ने चिन्ताले उनीहरूलाई पिरोल्दै लग्छ र अन्तिम विकल्पका रूपमा आत्महत्या रोज्छन्।
आत्महत्याको तेस्रो कारण पारिवारिक देखिन्छ। पारिवारिक कलह, असमझदारी र द्वन्द्वले मानिसलाई आत्महत्याको मार्गतिर डोर्याएको पाइन्छ।
सबैभन्दा बढी कोशी प्रदेशमा
प्रहरी प्रधान कार्यालयको आर्थिक वर्ष ०७९-८० को वैशाखसम्मको तथ्यांक हेरौं। साउन ०७९ देखि वैशाख ०८० सम्ममा ५ हजार ४८२ जनाले आत्महत्या गरेका छन्। तीमध्ये ३ हजार १२६ पुरुष र २ हजार ७५४ जना महिला छन्।
यस अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना कोशी प्रदेशमा भएका छन्, जहाँ १ हजार २२३ जनाले आत्महत्या गरेका छन्। तीमध्ये ७३३ पुरुष, ३६४ महिला, ७६ किशोरी र ५० किशोर छन्।
त्यसपछि दोस्रो नम्बरमा आउँछ लुम्बिनी प्रदेश, जहाँ यस अवधिमा १ हजार २४ जनाले आत्महत्या गरेका छन्। तीमध्ये ५७३ पुरुष, ३४३ महिला, ६२ किशोरी र ४६ किशोर छन्।
यस अवधिमा आत्महत्याका घटना धेरै भएको तेस्रो प्रदेश हो, मधेश। यस अवधिमा मधेशमा ८०० जनाले आत्महत्या गरेका छन्। पुरुष ३४०, महिला २९४, १२३ किशोरी र ४३ किशोर छन्।
चौथोमा वागमती प्रदेश आउँछ, जहाँ ७४४ जनाले आत्महत्या गरेका छन्। पुरुष ४४९, महिला २२९, किशोरी ३९, किशोर २७ छन्। वागमती प्रदेशभित्र पर्ने संघीय राजधानी काठमाडौं उपत्यकामा यस अवधिमा ४२८ जनाले आत्महत्या गरे। तिनमा २८५ पुरुष, १३२ महिला, ६ किशोर र ५ किशोर छन्।
यस्तै, पाँचौ स्थानमा आउने गण्डकी प्रदेशमा ५९० जनाले आत्महत्या गरेका छन्। तीमध्ये ३८० पुरुष, १५८ महिला, ३२ किशोरी र २० किशोर छन्।
सूदूरपश्चिम प्रदेशमा ४४६ जनाले आत्महत्या गरेका छन्, जसमा २२९ पुरुष, १५५ महिला, ४४ किशोरी र १८ किशोर छन्। यस अवधिमा सबैभन्दा कम आत्महत्याका घटना कर्णाली प्रदेशमा भएका छन्, जहाँ २२७ जनाले आत्महत्या गरेका छन्। तीमध्ये १२७ पुरुष, ७९ महिला, १२ किशोरी र ९ किशोर छन्।
०७८-७९ मा झण्डै ७ हजार घटना
आव ०७८-७९ मा देशभर ६ हजार ८३० जनाले आत्महत्या गरेका थिए। तीमध्ये ३ हजार ८६० पुरुष र २ हजार २६१ महिला थिए। आत्महत्याको बाटो रोज्नेमा ४५६ किशोरी र २५३ किशोर थिए।
त्यस वर्ष पनि कोशी प्रदेशमै आत्महत्याका घटना बढी देखिन्छन्, जहाँ १ हजार ४९१ जनाले आत्महत्या गरेका थिए। तीमध्ये ९२१ पुरुष, ४४४ महिला, ६३ किशोर र ६३ किशोरी थिए।
यो वर्ष पनि दोस्रोमा लुम्बिनी नै थियो। त्यस वर्ष लुम्बिनीमा १ हजार ३०५ जनाले आत्महत्या गरेका थिए, जसमा ७५५ पुरुष, ४२१ महिला, ७९ किशोरी र ५० किशोर थिए।
तेस्रो स्थानमा पनि मधेश प्रदेश नै थियो, जहाँ १ हजार २० जनाले आत्महत्या गरेका थिए। तिनमा ४१९ पुरुष, ३६५ महिला, १७६ किशोरी र ६० किशोर थिए।
चौथो स्थानमा पनि वागमती प्रदेश नै थियो, जहाँ ९०३ जनाले आत्महत्या गरेका थिए। तीमध्ये ५२१ पुरुष, ३११ महिला, ४२ किशोरी र २९ किशोर थिए। काठमाडौं उपत्यका मात्रको कुरा गर्दा त्यस वर्ष ५३९ जनाले आत्महत्या गरेका थिए, जसमा ३४७ पुरुष, १७७ महिला, १० किशोरी र ५ किशोर थिए।
आत्महत्याका घटना हुने पाँचौं प्रदेश गण्डकी हो। आव ०७८-७९ मा गण्डकीमा ६९८ जनाले आत्महत्या गरेका थिए। तिनमा ४३५ पुरुष, २२९ महिला, २१ किशोरी र १३ किशोर थिए।
आत्महत्याको तथ्यांकमा सूदूरपश्चिम छैटौं स्थानमा आउँछ। त्यहाँ ०७८-७९ मा ५८३ जनाले आत्महत्या गरेका थिए, जसमा २९५ पुरुष, २२५ महिला, ३९ किशोरी र २४ किशोर थिए।
सातौं स्थानमा कर्णाली आउँछ, जहाँ ०७८-७९ मा पनि २९१ जनाले आत्महत्या गरेका थिए। तीमध्ये १६७ पुरुष, ८९ महिला, २६ किशोरी र ९ किशोर थिए।
कोशीमै किन बढी आत्महत्या ?
प्रहरी प्रधान कार्यालयको दुई वर्षको तथ्यांकअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी आत्महत्याका घटना भएको देखिन्छ। झापाको प्रहरी प्रमुख, उपत्यका अनुसन्धान कार्यालयपछि हाल धनकुटाको प्रहरी प्रमुख रहेका एसपी कृष्ण कोइराला भन्छन्, ‘पूर्वका धेरै जिल्लामा आत्महत्याको घटनालाई खोतल्दै जाँदा वैदेशिक रोजगारमा गएका परिवारका मानिसहरू यस्ता घटनामा जोडिएका छन्।’
लामो समय श्रीमान् या श्रीमती विदेशमा रहँदा मिहिनेत गरेर पैसा घर पठाउने र घर फर्केपछि श्रीमान्-श्रीमतीबीच खर्चको हिसाबकिताब नमिलेपछि एकअर्कालाई शंका गर्दै सम्बन्ध बिग्रिँदै जान्छ र सहनै नसकी दुईमध्ये एकले आत्महत्या गर्ने एसपी कोइराला बताउँछन्।
उनका अनुसार त्यसबाहेक परिपक्व नभएका किशोर-किशोरीको हकमा आत्महत्याको प्रमुख कारण प्रेम सम्बन्धलाई मानिन्छ। अपरिपक्व उमेरमा प्रेम सम्बन्धमा बस्दा परिवारले उनीहरूबीचमा बाधा सिर्जना गर्छन्। जतिसुकै सम्झाइ-बुझाइ गरे पनि उनीहरू नबुझेपछि आत्महत्या रोज्ने गर्छन्।
धनकुटाका घटना केलाऊँ। यो आर्थिक वर्षमा मात्रै पहाडी जिल्ला धनकुटामा करिब ४० आत्महत्याका घटनामा मादक पदार्थको अत्यधिक सेवन देखिएको छ। त्यसमा पुरुष मात्र नभई महिला पनि छन्। मादक पदार्थको लतमा फसेपछि यसबाट उम्कन गाह्रो हुन्छ र त्यसको मात्रा बढ्दै जाँदा आत्महत्याको बाटो रोज्ने गरेको एसपी कोइराला बताउँछन्।
राई, लिम्बू, मगरलगायत समुदायमा मादक पदार्थ जन्मसंस्कारदेखि नै खुवाउने प्रचलन छ। त्यो उनीहरूको संस्कार हो। तर, त्यसको अत्यधिक सेवनले पनि आत्महत्याको बाटोमा पुर्याउने कुराबारे धेरैले ध्यान नदिएको उनको भनाइ छ।
आत्महत्याको प्रकृति : झुण्डिएर र विष खाएर बढी
साउन ०७८ देखि वैशाख ०८० सम्मको प्रहरी प्रधान कार्यालयको तथ्यांक केलाउँदा धेरैले झुण्डिएर र विष खाएर आत्महत्या गरेको देखिन्छ। त्यसबाहेक आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर, डुबेर र हतियार प्रयोग गरी आत्महत्या गरेको देखिन्छ।
चालु आव ०७९-८० को वैशाखसम्ममा आत्महत्या गरेका ५ हजार ४८२ जनामध्ये ४ हजार ६८८ जना झुण्डिएको अवस्थामा फेला परेका थिए। र, ७०७ जनाले विष खाएका थिए। ४३ जनाले हाम फालेर, २९ जना डुबेर, ११ जनाले हातहतियार प्रयोग गरेर र ४ जनाले आगो लगाएर आत्महत्या गरेका थिए।
आव ०७८-७९ मा आत्महत्या गरेका ६ हजार ८३० मध्ये ५ हजार ६८४ जना झुण्डिएको अवस्थामा फेला परेका थिए। र, १ हजार ४० जनाले विष सेवन गरेका थिए। ४२ जनाले हाम फालेर, ३३ जना डुबेर र १७ जना हातहतियार प्रयोग गरी आत्महत्या गरेका थिए।
अनुसन्धान नै कम
आत्महत्याका किन गर्छन् भन्ने विषयमा धेरै अनुसन्धान नभएको एसपी कोइराला बताउँछन्। यसको प्रमुख कारण मानसिक स्वास्थ्यलाई मान्ने गरिएको छ। तर, नेपालमा मानसिक स्वास्थ्यमा ध्यान नदिइएको उनी बताउँछन्। भन्छन्, ‘मानसिक स्वास्थ्यको पाटो कमजोर हुँदै जाँदा मानिस विस्तारै डिप्रेसनमा परी आत्महत्या गर्छ।’
अहिले गाउँ-गाउँमा वैदेशिक रोजगारको लहर छ। देशको अर्थतन्त्र नै विदेशिएका युवाले पठाएको रेमिट्यान्सबाट चलेको छ। तर, वैदेशिक रोजगारीमा जाने व्यक्ति ४-५ वर्षसम्म स्वदेश फर्कन सक्दैन। स्वदेश फर्केपछि पनि श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमानलाई शंका गर्ने, पठाएको पैसाको खर्चको हिसाबकिताब नमिल्दा सम्बन्ध चिसिँदै गएर आत्महत्याका घटना बढिरहेको उनी बताउँछन्।
भन्छन्, ‘वैदेशिक रोजगारीमा जाँदा राज्यले कम्पनीसँग नेपाली कामदारहरूलाई आफ्नै खर्चमा वर्षमा एकपटक घर जान दिने या उसको परिवारलाई भेट्न विदेशमै बोलाउनुपर्ने सम्झौता लागू गर्न सक्दा पनि वैदेशिक रोजगारीका कारण हुने आत्महत्या कम गर्न सकिन्छ। यस्तै, मानसिक स्वास्थ्यको पहुँच देशका कुनाकाप्चामा पुर्याउन सके पनि आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ।’
पुरुषको संख्या बढी
प्रहरी प्रधान कार्यालयको दुई वर्षको तथ्यांक नियाल्दा सबैभन्दा बढी आत्महत्या पुरुषले गरेको देखिन्छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी पन्थी भन्छन्, ‘नेपालमा महिलाले घर व्यवहार चलाउने र पुरुषले परिवार धान्न कमाउनुपर्छ भन्ने मानसिकता छ। जुनसुकै हालतमा भए पनि कमाएर परिवारलाई धान्नुपर्ने जिम्मेवारी पुरुषको काँधमा रहेकाले पनि उनीहरूलाई निकै तनाव हुन्छ। त्यही तनाव व्यवस्थापन गर्न नसक्ने व्यक्तिले आत्महत्या गरेको देखिन्छ।’
एकातिर पुरुषले कमाएर परिवार पाल्नुपर्छ भन्ने मान्यता छ भने अर्कातिर पढेलेखेका युवा बेरोजगार छन्। पुरुष भएर पनि परिवारका लागि केही गर्न सकिनँ भन्ने सोचका कारण डिप्रेसनमा पर्ने युवाले आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ।
‘नेपालमा बेरोजगार युवा कमाउनकै लागि खाडी मुलुक पुग्छन्। चर्को गर्मीमा दिनरात नभनी काम गरेर जब ४-५ वर्षपछि घर फर्किन्छन्, घरमा न त श्रीमती न कमाएको धन नै हुन्छ। कमाएजतीको सबै धन लिएर श्रीमतीले अर्काे बिहे गरेका घटनाबाट पीडित पुरुषले आत्महत्या गरेको देखिन्छ,’ डीएसपी पन्थी भन्छन्।
त्यसो त, आत्महत्या गर्ने महिलाको संख्या पनि कम छैन। किन आत्महत्याका लागि बाध्य हुन्छन् महिला ? महिला अधिकारकर्मी मीरा ढुंगाना भन्छिन्, ‘महिलाहरू घरेलु हिंसा, यौन हिंसामा पर्ने भएकाले त्यसको प्रतिकार गर्न नसकी आत्महत्याको बाटो रोज्छन्।’ महिलालाई आत्महत्या गर्न दुरुत्साहन गरिएका घटना पनि प्रशस्त छन्। बिहे गर्दा दाइजो कम ल्याए या ल्याउँदै नल्याएमा परिवारका सदस्यहरूले विभिन्न किसिमका यातना दिई आत्महत्या गर्न बाध्य पारिएका घटना पनि थुप्रै रहेको अधिकारकर्मी ढुंगाना बताउँछिन्।
नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी आत्महत्याको दर मात्र होइन, कारण पनि बढ्दो रहेको बताउँछन्। ‘हामीकहाँ अध्ययन गर्ने चलन छैन। अध्ययन गरेर कारणहरू ठम्याएर समाधानतिर लाग्नु आवश्यक छ,’ उनी भन्छन्, ‘र, सरकारले हस्तक्षेप गरेर न्यूनीकरण गराउनुपर्छ।’ देशमा अवसर कम हुनु र आफ्नो भविष्य नदेखेर मानिसले आत्महत्या गरेको देखिने उनी बताउँछन्। यस्तै, गरिबीलाई आत्महत्याको प्रमुख कारण देख्छन् उनी। ‘पछिल्ला वर्षमा नेपाली समाजमा असहनशीलता बढेको देखिन्छ। समाज पनि विभाजित भएको छ। विगतमा कुनै परिवार या व्यक्तिमा समस्या देखिएमा समाजले समाधान गरिदिन्थ्यो र मानिस आत्महत्यासम्म पुग्दैनथ्यो,’ ठकुरी भन्छन्, ‘अहिले समाज विखण्डित भएको छ। कुनै समस्या परेमा कसैले सहयोग गर्दैन। र, मानिस आत्महत्या रोज्न विवश हुन्छ।’
प्रमुख कारण डिप्रेसन
काठमाडौं मेडिकल कलेजकी मानसिक रोग विशेषज्ञ डा. रचना शर्मा आत्महत्या गर्नुको पछाडि विभिन्न कारण रहेको बताउँछिन्। भन्छिन्, ‘त्यसको प्रमुख कारण मानसिक पाटो हो। मानिसक रूपमा कमजोर भएमा मानिस डिप्रेसनमा जान्छ र अन्तिम विकल्प आत्महत्या रोज्छ।’
मानिसलाई कुनै समस्या पर्यो र त्यसको समाधान भेटाएन भने डिप्रेसनमा फस्दै जान्छ। डिप्रेसनमा परेको व्यक्तिले सधैंको भन्दा फरक व्यवहार देखाउन थाल्छ। जस्तो- रिसाउने, झर्किने, मानिसहरूसँग कुरा गर्न मन नगर्ने, दिक्क मान्ने, एक्लो बस्न रुचाउने, निद्रामा गडबडी, खान मन नगर्नेजस्ता लक्षण देखाउने डा. शर्मा बताउँछिन्। भन्छिन्, ‘डिप्रेसन भएको मानिसमा म काम नलाग्ने भएँ, बाँचेर के गर्ने, मर्न पाए हुन्थ्यो। बाटो हिँड्दा गाडीले हानिदिए हुन्थ्यो भन्नेजस्ता नकारात्मक सोचहरू आउन थाल्छन्।’
उनको भनाइमा मर्ने सानो कुरा होइन। कुनै व्यक्तिको स्वभाव झनक्क रिस उठ्ने हुन्छ, त्यस्तो व्यक्तिलाई चित्त दुख्ने कुरा गरेमा उसले तत्कालै केही सोच्दै नसोची आत्महत्या गर्ने गरेको उनी बताउँछिन्। भन्छिन्, ‘तर, डिप्रेसनमा रहेका मानिसहरू भने लामो समयदेखि आत्महत्या गर्ने योजना बनाइरहेका हुन्छन्। आत्महत्या गर्दा कुन विधि अपनाउने, कहिले योजनालाई सार्थकता दिने ंभनेर मौका पर्खेर बसेका हुन्छन्। उपयुक्त मौका छोपेर उनीहरूले आत्महत्या गर्छन्।’
डिप्रेसनमा रहेका व्यक्तिलाई कसरी बचाउने ?
मानिसलाई आत्महत्या गर्नबाट बचाउन सबैभन्दा पहिले डिप्रेसनको पहिचान हुन जरुरी रहेको डा. शर्मा बताउँछिन्। जसलाई डिप्रेसन भएको छ, त्यो व्यक्तिले आफूमा आएको परिवर्तनलाई पहिचान गर्न आवश्यक हुन्छ। कतिपय डिप्रेसनमा रहेको मानिसलाई आफूलाई के भइरहेको छ र किन हुँदैछ भन्ने थाहा नै नहुने उनी बताउँछिन्।
भन्छिन्, ‘परिवारमा कसैले सधैंभन्दा फरक व्यवहार देखाइरहेको छ, रिसाउँदै नरिसाउने मान्छे रिसाउँछ, बोल्न रुचाउने मान्छे बोल्दैन, एक्लै बस्छ, खानामा परिवर्तन आइरहेको छ, अँध्यारो कोठमा बस्न रुचाउनेलगायत लक्षण देखाएको १५-२० दिनभन्दा बढी भएमा त्यस्तो व्यक्ति डिप्रेसनमा परेको छ भनेर बुझ्नुपर्छ।’
अभिभावकले त्यस्तो व्यवहार देखाइरहेका व्यक्तिसँग बढीभन्दा बढी कुरा गर्ने, उनीहरूको कुरा सुनिदिने, किन यस्तो व्यवहार देखाइरहेको छ भनेर अस्पताल लग्नुपर्ने उनी बताउँछिन्। अस्पताल लगेमा डाक्टरले समस्या बुझेर मनोपरामर्शदाताकहाँ पठाउने भएकाले डिप्रेसन भएको व्यक्तिलाई अस्पताल लग्न जरुरी रहेको डा. शर्माको भनाइ छ। मनोपरामर्शदाताले डिप्रेसनको अवस्था हेरी परामर्श गरेरै हुन्छ कि औषधि या थेरापी गरेर हुन्छ, डिप्रेनको उपचार गरी निको पार्ने उनी बताउँछिन्।
‘विगतको तुलनामा अहिले आत्महत्याका घटना बढेको देखिनुको कारण विगतमा यस्ता घटनाहरू सार्वजनिक हुँदैनथे। अहिले रिपोर्टिङमा छन्,’ डा. शर्मा भन्छिन्, ‘त्यसका अतिरिक्त अहिलेका मानिसले जीवनयापनका लागि निकै दौडधुप गरिरहेका छन्, जसलाई व्यवस्थापन गर्न नसकेर र लागूपदार्थको दुर्व्यसनमा फस्ने भएकाले पनि आत्महत्याका घटना बढ्दै गएका हुन्।’
उनको सुझाव छ- आत्महत्या न्यूनीकरणका लागि हरेक पालिकाले वडा-वडामा एक परामर्शदाता व्यवस्था गर्न आवश्यक छ। तर, विडम्बना अहिले नेपालमा एक मात्र मानसिक अस्पताल र केही ठूला अस्पतालमा मात्र मनोविद र मनोचिकित्सकको व्यवस्था छ। त्यसले पनि मनोपरामर्शको पहुँचबाट टाढा रहेका व्यक्तिले आत्महत्या गर्ने गरेको उनी बताउँछिन्।
कोरोनाले बढायो आत्महत्या
पछिल्ला वर्षमा आत्महत्याका घटना बढ्नुमा कोरोना महामारीलाई पनि जिम्मेवार देख्छन्, स्वास्थ्य सेवा विभागको एनसीडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणीन्द्रप्रसाद बराल। तथापि, आत्महत्याको दर बढेको नभई घट्दो ट्रेन्डमा देखिने उनी बताउँछन्।
उनका अनुसार आव ०७७-७८ मा ७ हजार १४१ ले आत्महत्या गरेका थिए। यो संख्या ०७८-७९ मा ६ हजार ८३० छ। त्यसकारण आत्महत्याका घटना ४.५ प्रतिशतले घटेको तथ्यांकले देखाउने उनी बताउँछन्। तथापि, मानसिक बिरामीको संख्या घटेको मान्न नसकिने डा. बरालको भनाइ छ।
मानसिक बिरामीलाई उपचारमा पहुँच होस् भनेर शाखाले प्रत्येक प्रदेशमा मानसिक स्वास्थ्य उपचारका लागि औषधि खरिदमा वार्षिक ५० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको डा. बराल बताउँछन्। उनका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी ११ थरि औषधि निःशुल्क प्रदान गरिँदै आएको छ। भन्छन्, ‘विगत पाँच वर्षदेखि स्वास्थ्यकर्मीलाई मानसिक रोगसम्बन्धी ६ किसिमका तालिम पनि शाखाले दिँदै आएको छ।’
केन्द्रीय मानसिक अस्पताल पाटनबाहेक अहिले मुलुकका सेकेन्डरी लेभलका सबै अस्पतालले मानिसक स्वास्थ्यको आउटडोर सेवा दिँदै आएको बरालको भनाइ छ। उनी भन्छन्, ‘गत आर्थिक वर्षदेखि देशभरका १३ वटा प्रादेशिक अस्पतालमा इन्डोरसहितको मानसिक सेवा र हरेक मेडिकल कलेजमा मानसिक स्वास्थ्यको छुट्टै वार्ड, मनोचिकित्सा डिपार्टमेन्ट पनि शुरु गरिएको छ।’