गण्डकी- तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ स्थित पुरानो गुरुङ गाउँ लाँकुरीबोटबाट हिमाल, पहाडका सुन्दर दृश्य देख्न सकिन्छ। पछिल्लो समय गाउँका युवा रोजगार र सुविधाको खोजीमा शहर पस्न थालेपछि गाउँ पूरै खाली हुन थालेको छ।
बस्ती खाली बन्दै जाँदा यहाँको संस्कार तथा संस्कृति पनि हराउने चिन्ता थपिएको बुढापाका बताउँछन्। सुनसान बस्तीकै कारण विगतमा जंगलतिरै रमाउने बाँदर अहिले घरदैलोमा आएर सताउने गरेका स्थानीयवासीको दुःखेसो छ। गाउँ सुन्दर भएकाले यस क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न सके शहर पसेका युवा फेरि गाउँ फर्किने उनीहरूको आशा छ।
यस गाउँमा ०५० साल अघिसम्म झण्डै ६० परिवार बस्थे। स्वच्छ हावापानीसहित हिमाल, पहाड देखिने यस सुन्दर गाउँमा अहिले मुस्किलले १५-१६ घर छन्। ‘सुविधाका नाममा गाउँ छाडेर शहर पस्ने रोगले यस गाउँलाई पनि छोएको छ। अहिले गाउँ पूरै सुनसान छ,’ स्थानीय ७६ वर्षीय गजबहादुर गुरुङले भने। ‘५५, ५६ सालसम्म पनि गाउँमा २५-३० घर थिए र मानिसहरू पनि बस्थे,’ उनले भने, ‘अहिले १५-१६ घर मात्र छन्। तिनमा पनि धेरैजसो वृद्धवृद्धा बस्छन्, युवा छैनन्।’
लाँकुरीबोटलाई ३०० वर्ष पुरानो गुरुङ बस्ती मानिन्छ। गजबहादुरका अनुसार यहाँका पुर्खा लमजुङको क्होलासोंथरबाट आएका हुन्। क्होलासोंथरबाट खिलाङ, पर्वत भोक्सिङ देउराली, स्याङ्जा लामादी हुँदै उनीहरूका पुर्खा यस ठाउँमा आएर बसोबास गरेको इतिहास छ।
लाँकुरीबोट गाउँको सिरानमा रमाइलो थुम्को छ। स्थानीय बासिन्दाले यसलाई थुम्कोडाँडा भन्छन्। समुद्री सतहबाट एक हजार २०० मिटर उचाइमा रहेको यस डाँडाबाट अन्नपूर्ण, धवलागिरिलगायत शृंखला एकसाथ अवलोकन गर्न सकिन्छ। हिमाली दृश्यका साथै बरसाम्मी, बर डाँडागाउँ, बरमाझथरलगायत पहाडी भूभाग पनि यहाँबाट देखिन्छ। थुम्कोडाँडालाई स्थानीयवासीले धार्मिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण मान्छन्। त्यहाँस्थित ज्वालादेवीको मन्दिरमा साक्षात् शक्ति रहेको विश्वास गरिन्छ।
स्थानीयवासीले ज्वालादेवीको संरक्षणलाई जोड दिँदै आए पनि अहिले लेफ्टिनेन्ट ओमप्रकाश गुरुङ (एमबीई)को सहयोगमा व्यवस्थित मन्दिर निर्माण गर्न थालिएको छ। कूल ११ लाख ५६ हजार २०० रुपैयाँ लागतमा मन्दिर निर्माण हुन लागेको हो।
मन्दिर निर्माणको क्रममा केही दिनअघि सिन्धुलीका कमरलाल धामीले यहाँस्थित शिलामा चरचर आवाजसँगै बिजुली चम्किएको प्रत्यक्ष देखेको अनुभव सुनाए। ‘शिलामा आएको आवाजसँगै बिजुली चम्किएको देख्दा शुरुमा त डर लागेको थियो,’ उनले भने।
थुम्कोडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न पूर्वाधारका काम भइरहेको तमु हिल पार्क निर्माण समितिका सचिव डम्बरसिंह गुरुङले जानकारी दिए। ‘हामी यस क्षेत्रको पर्यटकीय विकासका माध्यमबाट गाउँ छोड्नेलाई पनि फर्काउने अभियानमा लागेका छौं,’ उनले भने। स्थानीय बासिन्दाको सक्रियतामा थुम्कोडाँडामा तमु हिलपार्क निर्माण थालिएको छ। त्यसको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।
उनका अनुसार डीपीआरमा गुरुङ संस्कृति संग्रहालय, बुद्ध प्रतिमा निर्माण, गोर्खा राइफल स्मृति पार्कलगायत विविध संरचना निर्माण गर्ने लक्ष्य छ। ‘शुक्लागण्डकी नगरपालिकाको सहयोगमा २० लाख लागतमा क्वोंइबो निर्माणाधीन छ। थुम्कोडाँडामा जान प्रदेश सरकारको सहयोगमा १० लाख लागतमा प्रवेशद्वार निर्माणाधीन छ,’ गुरुङले भने।
तनहुँको दुलेगौडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) यहीं भएर जाने भएकाले यसलाई पदयात्रा पर्यटनसँग पनि जोड्ने लक्ष्य रहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए।
‘पदमार्गमा पर्ने ऐतिहासिक महत्त्वका गाउँलाई हामीले मिलेनियम ट्रेकको नक्सामा समावेश गरेका छौं,’ उनले भने, ‘निर्माणाधीन तमु हिल पार्कलगायत पूर्वाधारले यहाँ पर्यटको आकर्षण बढाउन सक्ने देखिन्छ।’ राम्रो पर्यटकीय विकास भएमा गाउँ छोडेर शहर पसेका पुनः गाउँमै फर्किने वातावरण तयार हुने विश्वास छ।