कञ्चनपुर- जिल्लाको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन्। उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन्।
केही दिनयता खेतको उखु सुक्न थालेको छ। त्यसैले सिँचाइ गर्नैमा दिन बित्छ, उनको। ‘पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ,’ उनले भने, ‘खेती जगाउन हम्मेहम्मे परेको छ।’
विगतमा पनि उखु नसुक्ने होइन। यस वर्ष विगतभन्दा अत्यधिक सुकेको छ। ‘यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन,’ उनले भने, ‘बोरिङबाट खेतमा पानी लगाइरहेका छौं।’
बेलौरी नगरपालिका–१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित छन्। दुई बिघामा उनले उखु खेती गरेका छन्। आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको उनले बताए। ‘आकाशे पानीको भरको खेततिरको उखु सुकेको छ, नहरबाट सिँचाइ हुने जमिनमा सिँचाइ गरिरहेका छौं,’ भट्टले भने, ‘पानी परे खेती जोगाउन सकिन्थ्यो।’
उखु बेचेर घरखर्च जोहो गर्ने उनी यसपटक लगानी पनि निकाल्न पनि गाह्रो हुने बताउँछन्। आम्दानीको स्रोतको उखु नैसुक्न थालेपछि किसान चिन्तित छन्। केही दिनयता अत्यधिक गर्मी बढ्नुका साथै आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि जोशीले जानकारी दिए।
‘यहाँ धेरै ठाउँमा आकाशको पानीको भरमा खेती हुन्छ,’ उनले भने, ‘पानी नपरेकोले र पछिल्लो समय तापक्रम पनि बढेकोले खेती सुकिरहेको छ।’ कञ्चनपुरका पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधारा चाँदनीमा बढी उखु खेती हुन्छ। जिल्लाभर आठ सयदेखि एक हजार हेक्टरमा उखु खेती हुन्छ।
कञ्चनपुरमा उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन हुन्छ। यहाँका किसानका लागि उखु बेच्न बेलौरी र पुनर्वासमा मिल छन्। ‘गहिरो जमिनको खेती त्यति धेरै सुकेको छैन, बलौटे र सुक्खा जमिनको खेती सुकेको छ,’ जोशीले भने, ‘बाली जोगाउन नियमित सिँचाइ गर्न किसानलाई आग्रह गरेका छौं।’