खाँदबारी- विश्व वातावरण दिवसका अवसरमा आज संखुवासभाको तुम्लिङटारलाई गुल्मोहरको राजधानी घोषणा गरिँदैछ।
तुम्लिङटार विमानस्थल नजिक अपराह्न ४ बजे आयोजना हुने कार्यक्रममा उक्त घोषणा गरिने कांग्रेस नेता भीम कार्कीले बताए।
तुम्लिङटार विश्वकै होचो अरुण उपत्यकामा पर्छ। स्थानीय युवाले ५ हजार गुल्मोहरका बिरुवा रोपेर राजधानी घोषणा गर्न लागेका हुन्।
गुल्मोहर अभियानका अनुसार यस वर्ष ५ सय बिरुवा लगाउने र अर्काे वर्ष ५ हजार पुर्याउने लक्ष्य छ।
यस वर्ष तुम्लिङटारको बजार क्षेत्र र सडक डिभिजन कार्यालय जाने सडकको किनारमा गुल्मोहरको बृक्षरोपण गरिने भएको छ। अर्काे वर्ष कोशी राजमार्गको दुवैतर्फ बिरुवा लगाउने योजना छ।
रोपिएका सवै बिरुवाको हेरचाह गुल्मोहर अभियान समितिले गर्नेछ। संरक्षणका लागि समुदायलाई पनि जिम्मेवार बनाइने छ।
ढकमक्क फुल्ने गुल्मोेहरकै कारण आन्तरिक तथा बाह्य पर्यटक तुम्लिङटारमा भित्रिने अभियन्ताहरूको अपेक्षा छ। गुल्मोहर रोपणले जलवायु परिवर्तन रोक्न सहयोग गर्ने र मौरी पालनलाई सहज हुने अपेक्षा छ। गुल्मोहर सिरिस प्रजातिको रुख हो। यो रुख बोट नै ढाकिने गरी फुल्ने गर्छ।