महेन्द्रनगर- महाकाली नदी पश्चिम पारीको दुई गाँउ दोधाराचाँदनीलाई सबैले चिन्छन् । यी दुई गाँउ मिलेर नगरपालिका बनाईएको छ । तर दोधारामा एउटा यस्तो अर्को वस्ती छ, जो दोधाराबाट अलग्गै छ ।
दोधाराको जोगबुढा नदीपारी रहेको कञ्चनभोज वस्ती कुनै वेला दोधाराबाट नै टाढा लाग्थ्यो । झोलुङ्गे पुल नहुदा दोधाराको बजार बाबाथान आउनका लागि डुङ्गाको सहारामा आउजाउँ गुर्नु पथ्र्यो । भारतीय जंगलको किनारमा रहेको कञ्चनभोज गाँउ छुट्टै दुनिया हो की जस्तो लाग्थ्यो ।
हो त्यही कञ्चनभोज अहिले दोधाराको पुरानो बजार बाबाथानबाट २ मिनेटमै पुगिन्छ । त्यहाँ २ लेनको मोटरवेल पुल बनेपछि दोधाराचाँदन्ीसंग पूर्णरुपमा जोडिएको छ । दोधाराचाँदनीमा वि.स. २०२० तिरबाट बस्तीबस्न शुरु गरिएको हो । कञ्चनभोजमा भने करिब २०३० सालबाट बस्ती बस्न शुरु गरिएको थियो । झण्डै ५० बर्षपछि कञ्चनभोज दोधाराचाँदनीसंग जोडिएको हो ।
कञ्चनभोज क्षेत्र दोधाराचाँदनी नगरपालिका ७ मा पर्छ । दोधाराको मुख्य बजार बाबाथान पनि वडा नम्बर ७ मै पर्छ । एकै वडा भित्र रहेपनि बाबाथान र कञ्चनभोज छुट्टै लाग्ने अवस्था मोटरवेल पुलले हटाएको छ । पुलले बाबाथान र कञ्चनभोजलाई मात्रै जोडेको छैन । नजिकैको भारतीय बजार खटिमामा समेत गाडीमा आउँजाउ गर्न निकै सजिलो भएको छ ।
कञ्चनभोजमा करिब ४ सय ५० घरधुरी छ । जोगबुढामा पुल नहुदाँ उच्च पढाईका लागि भानु बहुमुखी र लक्ष्मी उच्च माध्यमिक बिद्यालयमा पढन आउने बिद्यार्थीहरु विगतमा डुङ्गाको सहारा लिन्थे ।
एक दशक अघि जोगबुढामा झोलुङ्गे पुल निर्माणले त्यहाका स्थानियलाई केही राहत भएको थियो । पक्की पुल नै बनेपछि सहजै ठूला साना गाडी चल्न थालेका छन् भने बाबाथान र कञ्चनभोजनलाई नजिकै बनाएको छ ।
‘विगतमा धेरै दुख थियो, झोलुङ्गे पुलले केही सहजता ल्याएपनि ठूला गाडीको हकमा उस्तै थियो ’ दोधाराचाँदनी नगरपालिकाका–७ का अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले भने ‘मोटरवेल पुल बनेपछि हामी जोगबुढा नदी पारीका वासिन्दा नै हैनो भन्ने लाग्छ ।’
दोधाराचाँदनीका प्राय स्थानियहरु स्वास्थ्य उपचारका लागि भारतको खटिमा जाने गर्छन् । आकस्मिक उपचारका बेला एम्बुलेन्स खटिमा लैजान गाहे नै थियो । ‘पुल भएपछि अब एम्बुलेन्समा २० मिनेटमै खटिमा लैजान सकिने भएको छ ’ अध्यक्ष बहेकले भने ।
२०७४ सालमा संघिय सरकारले सडक डिभिजन अन्तर्गत पूल ठेक्का बन्दोबस्ती गरेको थियो । कञ्चनपुरकै मित्र निर्माण सेवाले १६ करोड बढीको लागतमा उक्त पूल निर्माण गरेको हो । पुलको लम्बाई १ सय ७१ मिटर रहेको छ ।
एक हप्ता अघि निर्माण सम्पन्न भएको पुल नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढेको छ ।