काठमाडौं– कुनै बेला एमाले अध्यक्ष केपी ओलीको किचेन क्याबिनेटका सदस्य रहेका दामोदर अर्याल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य बनेका छन् ।
बर्दियाका लोकप्रिय नेता अर्याल विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा प्रवेश गरेका थिए । उनी प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसका पूर्वस्ववियु सभापति पनि हुन् । एमाले र माओवादीबीच पार्टी एकता हुनु अघिसम्म अर्याल एमालेको केन्द्रीय युवा तथा खेलकुद विभाग सचिव थिए । एमालेमा केन्द्रीय विभाग सचिव शक्तिशाली पद मानिन्छ ।
यस्तै, लामो समयदेखि आफ्नो गुटको राजनीतिका लागि ओलीले प्रयोग गर्दै आएको मदन भण्डारी फाउन्डेसनको केन्द्रीय सदस्यका रूपमा अर्याल ओलीका दाहिने हात मानिँदै आएका थिए । ओलीका हरेक रणनीति र गतिविधिबारे जानकार नेता मानिन्छन् उनी ।
५ पुस ०७७ मा तत्कालीन प्रधानमन्त्री ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि अर्याल ओली गुटबाट अलग्गिए । प्रधानमन्त्रीलाई हुँदै नभएको अधिकार दाबी गर्दै ओलीले प्रतिगामी, अलोकतान्त्रिक र गैरसंवैधानिक कदम उठाएकामा उनले चर्को विरोध गरे । र, त्यसविरुद्धको आन्दोलनमा सहभागी भए ।
त्यसपछि ओली गुट छाडेर अर्याल निरन्तर तत्कालीन एमाले वरिष्ठ नेता तथा हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको साथमा रहे।
तत्कालीन नेकपा विभाजनमा मुख्य भूमिका रहेको आरोप लागेका वामदेव गौतमका चर्को आलोचक हुन्, अर्याल । ०७४ सालको आम निर्वाचनमा आफूलाई हराउन अर्यालको भूमिका रहेको दाबी गर्दै गौतमले अर्यालको राजनीतिक जीवन नै समाप्त पार्ने प्रयास गरेका थिए । तर, त्यसका लागि गठित छानविन समितिले अर्याललाई सफाइ दिएपछि गौतमको प्रयास सफल भएन । अर्यालले अहिले एकीकृत समाजवादीको केन्द्रीय सदस्यका साथमा बर्दिया सह–इन्चार्जको जिम्मेवारी पनि पाएका छन् ।