बुटवल- नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज र प्रविधिको विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन्।
इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको बताए।
आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताए।
“नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ। त्यसका लागि प्रहरी सङ्गठन प्रतिबद्ध छ” उनले भने “जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधारण नागरिकको जनजीवनलाई सरल, सहज र सुरक्षित गराउने दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ।”
उनले देशैभरका प्रहरी कार्यालयमा नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने उल्लेख गर्दै स्थानीय सरकारको समन्वयमा लागु औषध नियन्त्रणको विशेष कार्यक्रम चलाइने बताए।
उनले प्रहरीको कार्यदक्षता वृद्धिका लागि भौतिक पूर्वाधारको सम्पन्नतामा पनि ध्यान दिइएको बताए।
इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा सङ्घीय सरकारमार्फत प्राप्त रु दुई करोड ४१ लाख २० हजारको लागतमा नागरिक सहायता कक्ष र मेस निर्माण भएको छ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु तीन करोड १९ लाख १३ हजारमा प्रहरी ब्यारेक र कार्यालय प्रमुखको निवास निर्माण भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।