दमक- दमक नगरपालिकाले बेलायती सैनिकका उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व. रामबहादुर बेघा लिम्बूको शोकमा आज स्थानीय बिदा दिएको छ।
नगर कार्यपालिकाको आज बसेको बैठकले उनको शोकमा एक दिनका लागि स्थानीय बिदा दिइएको कार्यवाहक नगर प्रमुख भीमप्रसाद पौडेलले जानकारी दिए।
शोकमा नगरपालिकाको कार्यालयसहित वडा कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था बन्द रहने छन्।
गत चैत ९ गते काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा भिसी बेघाको ८७ंं वर्षको उमेरमा निधन भएको थियो।
दमक- ८ का बासिन्दा बेघा एक वर्षदेखि मिर्गौला र मुटु रोगका कारण अस्वस्थ्य थिए।
उनको पार्थिव शरीर दमक ल्याई दमक–६ स्थित उनकै आफ्नो निजी किरात माङहिमको जग्गामा किरात धर्मसंस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिएको अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू (भिसी) एमभिओ. प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताए।
सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाएका थिए। तेह्र गोर्खाली भिसीमा उनी एक मात्र जीवित थिए।