वेलिङ्टन- न्युजिल्यान्डको प्रधानमन्त्री पद त्यागेकी जसिन्डा आर्डेन अमेरिकाको प्रतिष्ठित हार्भर्ड विश्वविद्यालयमा फेलो बन्ने भएकी छन्।
उनले यही वर्ष हार्भर्डमा फेलोका रूपमा गाँसिने घोषणा गरेकी हुन्। अमेरिकाको म्यासाचुसेट्स शहरको क्याम्ब्रिजस्थित प्रतिष्ठित आईभी लिग युनिभर्सिटीले यसबारे जानकारी सार्वजनिक गरेको हो।
गत मंगलबार मात्र हार्भर्डले न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जेसिन्डा आर्डेन केनेडी स्कुल अफ ड्युल फेलोसिपका रूपमा सहभागी हुने बताएको छ। उनले ग्लोबल पब्लिक लिडर्स फेलोहरूसँग काम गर्नेछिन्।
उनले १९ अक्टोबर २०१७ देखि १९ जनवरी २०२३ सम्म करिब ६ वर्ष प्रधानमन्त्रीका रूपमा न्युजिल्यान्डको नेतृत्व गरिन्। उनी संसारकी सबैभन्दा कम उमेरकी सरकार प्रमुख बनेकी थिइन्।
किशोर वयमा उनी वामपन्थी पार्टीसँग आबद्ध भएकी थिइन्। न्युजिल्यान्डका अन्तिम वामपन्थी प्रधानमन्त्री हेलेन क्लार्कको कार्यालयमा उनले काम गरेकी थिइन्। यस्तै, बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरको सल्लाहकार बन्ने अवसर पनि पाएकी थिइन्।
सन् २००८ मा सेन्ट्रल-लेफ्ट दल लेबर पार्टीबाट संसदमा पुगेकी थिइन्। सन् २०१७ मा लेबर पार्टीकी नेता चुनिइन्। सन् १९८० मा हेमिल्टनमा जन्मेकी उनी सन् २०१७ मा गठबन्धन सरकारको नेतृत्व गर्दै न्युजिल्यान्डकी प्रधानमन्त्री बनिन्। त्यतिबेला उनी मात्र ३७ वर्षकी थिइन्। हालसम्म सबैभन्दा कम उमेरकी सरकार प्रमुखको रेकर्ड उनकै नाममा छ। यस्तै, प्रधानमन्त्री पदमा छँदै सन्तानलाई जन्म दिने नेताको रेकर्ड पनि उनकै नाममा छ।