काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताएका छन्।
सातौं संविधान दिवसका अवसरमा शनिबार साँझ शुभकामना दिँदै नेपालले संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको उल्लेख गरेका छन् । ‘तर, अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौँ,’ नेपालले आफ्नो विज्ञप्तिमा भनेका छन् ।
पाँचदलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको उनले बताएका छन् । ‘सम्मानित सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको कुरालाई पनि यस अवसरमा उच्च सम्मानसहित स्मरण गर्नैपर्छ,’ नेपालले भनेका छन्, ‘स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जवाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिन्छ । जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ ।’
