काठमाडौं– आइतबार देशभर १ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार नौ सय ७१ जनाको नमुना परीक्षण गर्दा उक्त संख्याका संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यीसहित हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार आठ सय ३८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३४ जना कोरोनाबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन् भने १.४ प्रतिशतको मृत्यु भएको छ । बाँकी ४ प्रतिशत सक्रिय संक्रमित छन् ।
सक्रिय संक्रमितको संख्या देशभर ३१ हजार २४८ पुगेको छ । हाल देशभरका अस्पतालमा ५२३ जना संक्रमितको सघन उपचार कक्षमा उपचार भइरहेको छ । तीमध्ये १६२ जना भेन्टिलेटरमा छन् । हालसम्म कोभिड–१९ विरुद्धको पूर्ण खोप ४८ लाख ९५ हजार एक सय ५२ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।