खाँदबारी- अरुण तेस्रो ४०० केभी प्रसारण लाइनका लागि खाँदबारी नगरपालिका र चिचिला गाउँपालिकाका बासिन्दाले तत्काल जमिन उपलब्ध गराउन नसक्ने सामुहिक निर्णय गरेका छन्।
खाँदबारी नगरपालिका-३ चिसापानीस्थित बौद्धगुम्बाको प्रांगणमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो। अरुण तेस्रो ४०० केभी प्रसारण लाइन मुआब्जा सरोकार समितिले अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा जग्गाधनीहरूसँग सामुहिक छलफल गरेको थियो।
अरुण तेस्रो ४०० केभी प्रसारण लाइनका सवालमा जनताको आवाज बोल्नुपर्ने लगानी बोर्डले स्थानीयवासीको पक्षमा नबोलेको गुनासो छलफलका क्रममा आएको छ।
जग्गाधनीहरूसँग छलफल र सार्वजनिक सुनुवाइसमेत मुआब्जा लिने/दिने काम गर्न नपाइने छलफलले निर्णय गरेको छ। छलफलमा जग्गाधनी र सरोकारवालाहरू सहित डेढ सयभन्दा बढीको उपस्थिति थियो। उनीहरूले पोलमुनिको मात्र नभएर तारमुनिको जग्गाको समेत मुआब्जा पाउनुपर्ने निर्णय गरेका छन्।
तारमुनिको जग्गामा रुख रोप्न नपाइने, घडेरी बेच्न नपाइने, जमिन बिक्री नहुनेजस्ता समस्या रहेकोले सो जमिनको समेत मुआब्जा पाउनुपर्ने माग गरिएको छ। तारमुनि र पोल गाड्ने ठाउँको जमिनको मूल्य एउटै हुनुपर्ने जग्गाधनीहरूको माग छ।