काठमाडौं– निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दल दर्ताको मान्यता दिएको छ ।
नेपाल र ठाकुर पक्षले नयाँ दल दर्ताको निवेदन दिएपछि आयोगले दल विभाजनका लागि आवश्यक संख्या पुगे÷नपुगेको भनेर एकीन गर्न बुधबार दुवै दलका नेताहरुलाई बोलाएर सनाखत गराएको थियो ।

सरकारले हालै जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल विभाजन गर्न संघीय संसद वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य चाहिन्छ ।
बुधबार नेपाल पक्षका ५४ केन्द्रीय सदस्य र ठाकुर पक्षका १४ सांसदहरुले सनाखत गरेका छन्, जुन उनीहरु रहेको दलबाट अलग भई नयाँ दल दर्ता गर्न पर्याप्त संख्या हो ।
यसअघि २०३ केन्द्रीय सदस्य रहेको नेकपा एमालेबाट अलग भएका नेपालले नेकपा एकीकृत समाजवादी र ३७ संघीय सांसद रहेको जनता समाजवादी पार्टीबाट अलग भएका महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । उनीहरुले दिएको निवेदनअनुसार सनाखत गर्न आयोगले बुधबार दिउँसो २ बजेसम्मको समय दिएको थियो ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसकेको जानकारी दिए । केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सनाखतमा उपस्थित नभएका हुन् ।
पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् ।
संघीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरेका छन् । अरू दुुईजनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिए । दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो ।
आयोगमा उपस्थित भएर पनि सनाखत गर्न नपाएका केही सांसदका लागि विद्यमान अध्यादेश र ऐनका कारण प्राविधिक समस्या देखिएको जानकारी दिइएको छ । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुुगेका थिए ।
सनाखतपछि नेता पाण्डेले भने, ‘दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुुक पार्टीमा सामेल हुन पाउने व्यवस्था छ, त्यसका लागि काम गर्नेछौँ ।’