काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सूचीका त्रुटी यही भदौ ७ गतेभित्र सच्याउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
विधिसम्मत ढंगले त्रुटी सच्याएर सार्वजनिक नगरे भदौ आठ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा अनसन बस्ने चेतावनी उनीहरुले दिएका छन् ।
आज (शनिबार) पार्टी सभापति शेरबहादुर देउवालाई इमेलमार्फत् जिल्ला सभापतिहरुले तीन बुँदे माग पठाएका छन् ।
‘क्रियाशील सदस्यता सूचीका त्रुटी सच्याउनुपर्ने लगायतका माग सात गतेभित्र पूरा नभए धर्ना अनसन लगायतका आन्दोलन गर्ने जानकारी सभापतिलाई गराएका छौं,’ नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भने ।
अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानविन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनुपर्ने र सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।
‘हाम्रो उपरोक्त मागहरुलाई सम्बोधन गर्नेगरी यही भाद्र ७ गतेभित्र आवश्यक कदम नचालिएमा भोलिपल्टदेखि (भाद्र ८ गते)बाट केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी बाध्य हुने व्यहोृरा जानकारी गराउँछौं,’ सभापति देउवालाई इमेलमार्फत् पठाइएको मागपत्रमा लेखिएको छ ।
नेपाली कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ । पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको छ ।