काठमाडौं – नेकपा एमाले औपचारिक रुपमा फुटेको छ । वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले औपचारिक रुपमा फुटेको हो ।
नेपालले बुधबार निर्वाचन आयोगमा ‘नेकपा एमाले समाजवादी’ दर्ता गर्न निवेदन दिएका हुन् । पार्टीको अध्यक्षमा माधव नेपाल स्वयं छन् भने वरिष्ठ नेतामा झलनाथ खनाल छन् । नेता नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
बुधबार साँझ एक अपिल प्रकाशन गरी नेपालले पार्टी एकता जोगाउन निरन्तर प्रयास गरे पनि ओलीले कुनै हालतमा एकता गर्न नचाहेपछि अलग पार्टी बनाउनुपरेको बताएका छन् ।
अधिकांश नेताले छाडे माधव नेपालको साथ
तर लामो समयदेखि उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा गएका छैनन् । स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।
स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने भने नेता नेपालसँगै नयाँ दलमा हुनेछन् ।
केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ । यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।
अध्यादेश ल्याउन लगाएर माधवकुमार नेपालले र नेताहरुलाई कारबाही गरेर अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको भन्दै उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ‘व्यक्तिले गरेको गल्तीको सजाय पार्टीलाई दिन सकिन्न । हामी एकताकै पक्षमा छौं ।’