बझाङ– बझाङको केदारस्यँु गाउँपालिका–६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको उच्च जोखिममा परेको छ । अविरल वर्षाका कारण विद्यालयको प्राङ्गण पहिरोले बगाएकाले भवन पनि जोखिममा परेको हो ।
साउन १२ गते रातिको अविरल वर्षाले विद्यालयको मूलद्वार र प्राङ्गण पहिराले लगेकोे प्रधानाध्यापक मानबहादुर धामीले बताए । उनले भने, ‘लगातारको वर्षाका कारण भवनसमेत भत्कने खतरा छ । भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो ।’ कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन् ।
वडाध्यक्ष काशीराम धामीले यस वर्ष रु २० लाख बराबरको ग्याविन जाली राखिएकामा जालीसहित गाउँका २० परिवारको बाली र विद्यालयको प्राङ्गण पनि पहिराले बगाएको बताए । उनले भने, ‘अहिले त विद्यालय बन्द छ खुला भयो भने कहाँ पढाउने भन्ने समस्या भएको छ । विद्यालय भवन अन्त बनाउनका लागि जग्गाको खोजी गरिरहेका छौं,, भेट्टाएका छैनौँ, कतै पाइएमा चाँडै भवन अन्तै सार्ने योजनामा छौं ।’