काठमाडौं– अर्जेन्टिनी कप्तान लिओनल मेस्सी हाल फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आवद्ध छन्। पीएसजीसँग उनको सम्झौता जुनमा समाप्त हुँदैछ। पीएसजीले मेस्सीसमक्ष नयाँ सम्झौताको प्रस्ताव राखेको छ। तर, उनले अहिलेसम्म सम्झौतापत्रमा हस्ताक्षर गरेका छैनन्।
उनले यो सिजनपछि पीएसजी छोड्ने मन बनाइसकेको अन्तर्राष्ट्रिय मिडियाले दाबी गरिरहेका छन्।
यो कुराका बाबजुद्ध एउटा रोचक तथ्य बाहिरिएको छ। साउदी अरेबियाको क्लब अल हिलालले मेस्सीसमक्ष ५ हजार ७६० करोड रुपैयाँ तलबको आकर्षक अफर राखेको छ।
चर्चित फुटबल पत्रकार फ्रेब्रिजिओ रोमानोले गत मंगलबार एउटा कुराको खुलासा गर्दै भनेका छन्, ‘साउदी अरबको क्लब अल हिलालले मेस्सीलाई आधिकारीक रूपमा क्लबसँग जोडिन प्रस्ताव गरेको छ। यस बापत उसले हरेक वर्ष ४०० मिलियन युरोको प्रस्ताव अघि सारेको छ।’ तर, मेस्सीले यो प्रस्तावको विषयमा केही बोलेका छैनन्।
मेस्सीका चिरपरिचित प्रतिद्वन्द्वी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबकै क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। गत वर्ष उनलाई अल नस्रले २०० मिलियन युरोमा सम्झौता गरेको थियो। यदि मेस्सी अल हिलालमा आबद्ध भए, उनी रोनाल्डोभन्दा बढी तलब पाउने खेलाडी बन्ने छन्।