कहाँ गै रहेछस् बे
कहाँबाट आइस् बे
बिर्यानी र कवाब दाबिस्
गोलगप्पा कति बजाइस्
नेपालगञ्जमा भेट हुनासाथ
साथीभाइबीच बोलिने बोली हो यो
नेपालगञ्ज नचिनेकाले
अचम्मै मान्दै सुन्दा
संगीतको सातै सुर एकै साथ
बजेजस्तै लाग्ने बोली हो यो
मन पराऊ नपराऊ
बडा मजा आउँछ यो
बोली सुन्न र बात बजाउन
नुर मुहम्मदको एक्का
चढेर रुपैडिहा सैरको पुरानो सम्झना
बिहान भेरी अस्पताल छेउ
भगवान दिनको जलेबी र समोसा
घरबारी टोलको रबडी
यही त मजा हो यहाँको
कहीं नभएका जुङे महादेव
नेपालगञ्जभरिको आस्था
बोकेकी वागेश्वरी माता
साँझ त्रिभुवन चोकमा जम्मा भई
धरमेन्दरको गोलगप्पाको चटखारे
त्यसपछि संगम पानको मजा आहा
त्रिभुवन चोकछेउको गल्ली
बिर्यानी, कवाब र चिकेनले
पूरै जवानी पर्सेको छ
पूर्वदेखि पश्चिम सबैलाई
समेटेको शहर हो नेपालगञ्ज
पुरानो बजार र
नयाँ शहरको
संगम हो नेपालगञ्ज
पहाडे, मुसलमान, सरदार र मधेशी
एकै परिवार भएर बसेको
शहर हो नेपालगञ्ज
उर्दुको शायरी
र
कविताको खानी हो नेपालगञ्ज
अल्लाह हुँ अकबर
नानकको गुरुवाणी
जय सिया रामको
सन्देश दिने शहर हो नेपालगञ्ज