प्रहरी तालिम केन्द्र
मलाइ हिँडडुल गर्न ठाउँ पुगेको थिएन
जिउ तन्काउँदा पर्खालमा
हाथ ठोकिएको थियो
मेरो हेलिकोप्टर बस्ने ठाउँ नै भएन
लखेट प्रहरीलाई
प्रहरी बनाउने ठाउँबाट
इतिहास जोडिएको ठाउँबाट
जहाँ जानु छ जाउन्
मलाई मतलब छैन भनेकै हो
दशैं टीका
दशैंको टीका थाप्दा देखेनौ
मेरो अगाडि कसरी
घोसे मुन्टो लगाउनुपर्छ
कसरी हाथ थाप्दै घुँडा धस्नुपर्छ
मलाई मेरो नजिक
कुर्सीमा बसेको
मन पर्दैनथ्यो
अध्यादेश
मलाई सोध्दै नसोधेर
बिन्ती भाउ नै नबिसाई
कसले भनेको थियो अध्यादेश बनाउन
थाहा थिएन तिमीलाई
मेरो आदेश लिनुपर्दथ्यो
मलाई सोध्नुपर्छ भनेर
तिमी को हो मलाई मेरो
काम र जिम्मेवारी सिकाउने
को होऊ तिमी
मलाई अह्राउने
मलाई आदेश दिने
कतै बार्दलीमा बसेका थिए
नेपाली जनलाई
हवाई महल बनाउने
अर्ति उपदेश अहिले पनि
दिइराखेका छन्
साझा बस
साझा बसमा सरर
एक्लै सवारीमा निस्किँदा
साधारण नेपालीको दुःख
बाटाको बेथिति देखें थिएँ
मेरो सवारी निस्कँदा
अस्पताल, आर्यघाट
स्कुल जाँदै गरेका
रोकिएर बसेका
धारे हाथ लगाउँदै
गाली गर्दै गरेका नेपालीजन देखेको थिएँ
मुख बिगारेर मतिर
हेर्दै गरेका नेपाली देखेको थिएँ
सवारी
मेरो घोडागाडी लावालस्करसहितको
सवारीको विरोध किन
मलाई एकसरो हिँड्न मन पर्दथ्यो
म हिँड्दा बीचमा आएको मन पर्दैनथ्यो
बजाऊ हर्न
लगाऊ धारे हाथ
म सुन्दैन र देख्दैन पनि थिएँ
सजाय माफी
अपराधीलाई माफी दिएँ त के बिगारें
विरोधको कारण के थियो
यी हामीलाई सत्तामा पुर्याउने
कमरेड हुन्, सहयात्री हुन्
हामीलाई भविष्यमा पनि
यिनको साथ चाहिन्छ
सत्ताका भर्याङमा
गन्ती महत्त्वपूर्ण हुन्छ
त्यही गन्तिका कडी हुन कमरेडहरू
बाहिर-भित्र आउने-जाने चलिरहन्छ
यो खेल जो राजनीति को हो
तक्मा
तक्माको सिजनमा तक्मा बाँडियो
किन बाँडियो
कसरी बाँडियो
केका लागि बाँडियो
बाँडिनसम्म बाँडियो
कोही आफ्ना थिए
कोही बिराना थिए
के गरेका थिए
मलाई के थाहा
मलाई के मतलब
बाँड्नु थियो त बाँडियो
किन कसैलाई चासो
चासो राख्ने तिमी को हौ फेरि