चिरबिर गर्दै
आँगनमा दाना माग्न आउने भँगेरा
हिजो आज
कता गए, कता हराए
कोभिडपछिका दिनमा
आउन छाडे, देखिनै छाडे
कता हराए, कोसँग डराए
रोगले त छोएन कतै
रोग बोकेका
हामीसँग त डराएनन् कतै
जाडो छल्न त हिँडेनन् कतै
कता गए, कता हराए
हामीले बिगारेको मौसमले त
केही गरेन कतै
शहरमा चलेको कोलाहलले तर्सिएकी
देशको राजनीतिसँग डराएकी
आधुनितामा रमाएका मान्छेसँग डराएकी
फोहोरी शहरी वातावरणसँग डराएकी
केही दिनपछि
मौसम सफा हुनेछ
चकमक्क घाम लाग्ने छ
र
हुलका हुल फेरि फर्की आउने छन्
नयाँ सन्देश बोकी आउने छन्
मेरो आँगन फेरि भरिने छ,
पहिलाजस्तै आँगनमा
फेरि चारो छर्नेछु
पहिला नदेखिएका
नयाँ अनुहार पनि थपिने छन्
कहिले देख्दै नदेखेको
मलाई अचम्म मानी हेर्ने छन्
पहिलाभन्दा दोब्बर स्वर गुञ्जिने छ
हालेको चारो कम पर्नेछ,
बिहान कुरेर बस्ने बानी परिसक्यो
चारो जम्मा गर्ने बानी भइसक्यो
मेरो समय कटाउने साथी
फेरि नहराउन
फेरि छोडेर नजाउन,
तिमीहरूसँग कसरी संवाद गर्ने
नयाँ पुस्तालाई सिकाउने छु
तिम्रो महत्त्व बुझाउने छु
अब नहराऊ
मेरो घर आँगन छोडेर नजाऊ ।।