काठमाडौं- सरकारले स्थानीय तहहरूलाई कोभिड-१९ विरुद्धको खोप आफैं खरिद नगर्न निर्देशन दिएकाउ छ।
केही स्थानीय तहले खोप खरिद गर्ने व्यवस्था मिलाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिरहेका बेला सरकारको यस्तो धारणा आएको हो।
कोरोना महामारी नियन्त्रण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालय र संघीय सरकारको रहेको भन्दै सरकारले सबै नागरिकलाई खोप दिने घोषणा यसअघि नै गरिसकेकोले बरु मन्त्रालयको यो काममा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ।
मन्त्रालयले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सरकारसँग सहजीकरण गरेर यो कार्यमा स्थानीय तहले सहयोग गर्नु उपयुक्त हुने बताए।
वीरगञ्ज महानगरपालिका, पाल्पाको रामपुर नगरपालिकालगायतले खोप किन्न अनुमति माग्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेका थिए।
स्थानीय तहहरूले खोप खरिद गरेर ल्याउन सक्ने सम्भावना, त्यसको प्राविधिक, स्टोरेज, अनुगमन, मूल्यांकन, कोल्डचेनको व्यवस्थापनलगायत अन्य त्यसबाट हुने जोखिम नियन्त्रण तथा व्यवस्थापन अत्यन्तै कठिन रहेको उनले बताए।
दुवै डोज खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण दर एकदम कम रहेको मन्त्रालयले जनाएको छ।
संक्रमण भइहाले पनि अस्पतालमा भर्ना हुने दर कम रहेको उनले बताए। खोपले शतप्रतिशत मानिसलाई नबचाए पनि धेरै नागरिकलाई बचाउने उनको विश्वास छ।
खोपको प्रभावकारितासँगै केही स्थानीय तहहरूले खोप खरिदका लागि बजेट विनियोजन गर्न आवश्यक पर्ने नीति तथा निर्णयबारे आवश्यक जानकारी उपलब्ध गराउन मन्त्रालयसँग अनुरोध गरेका थिए।