काठमाडौँ । आज देशमा तीन जिल्लामा हल्का वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ ।
प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका हिमाली भूभागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विज्ञप्तिमा उल्लेख छ ।
सोमबार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।